काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा भएको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता कुनै ठोस सहमति विना नै टुङ्गिएको छ । दुई देशबीच जारी तनाव कम गर्ने उद्देश्यले आयोजना गरिएको उक्त वार्ता निष्कर्षविहीन बनेको हो ।
अमेरिकी टोलीको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्सले वार्तामा कुनै पनि सहमति जुट्न नसकेको पुष्टि गरेका छन् । झन्डै एक दिनसम्म चलेको निरन्तरको संवाद र छलफलपछि अमेरिकाले आफ्नो तर्फबाट ‘अन्तिम प्रस्ताव’ पेस गरेको थियो ।
तर, उक्त प्रस्तावमा इरानी पक्ष सहमत नभएपछि वार्ता टुङ्गिएको भान्सले बताए । उपराष्ट्रपति भान्सका अनुसार वार्ता सकारात्मक र सद्भावपूर्ण वातावरणमा भएको थियो ।
अमेरिकाले राखेको अन्तिम प्रस्तावलाई इरानी पक्षले स्वीकार नगरेका कारण वार्ता उपलब्धिमूलक हुन सकेन । वार्ता निष्कर्षविहीन भएसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध र युद्धको अवस्था आगामी दिनमा कुन दिशामा जान्छ भन्ने विषय थप अन्योलपूर्ण बनेको छ ।
लामो समयदेखि युद्धको चपेटामा रहेका यी दुई राष्ट्रबीचको यो वार्तालाई विश्व समुदायले निकै चासोका साथ हेरेको थियो । पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै इस्लामावादमा यो संवादको वातावरण जुराएको थियो ।