गृहमन्त्री गुरुङद्वारा घोप्टे भिरको निरीक्षण, पहिरोको समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने चितवनको जोखिमपूर्ण घोप्टे भिरको स्थलगत अवलोकन गरेका छन् । 

हरेक वर्ष वर्षायाममा जाने बाढी र पहिरोका कारण यात्रुहरूले सास्ती झेल्दै आएको गुनासो बढेपछि मन्त्री गुरुङले उक्त क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका हुन् । 

अवलोकनका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले घोप्टे भिरको भौगोलिक जटिलता र त्यहाँ बर्सेनि दोहोरिने समस्याका कारण यातायात सञ्चालनमा हुने अवरोधबारे गृहमन्त्रीलाई व्रिफिङ गरेका थिए । 

सिडिओ अर्यालले भने, ‘हरेक वर्ष यहाँ बाढी र लेदोसहितको पहिरो खस्दा यात्रुहरूले घण्टौँसम्म सास्ती पाउनुका साथै ज्यानको जोखिम समेत रहने गरेको छ । यसको दीर्घकालीन समाधान खोजिनु आवश्यक छ ।’

स्थानीय प्रशासन र प्राविधिक टोलीको कुरा सुनिसकेपछि गृहमन्त्री गुरुङले नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको बताए ।

उनले जोखिमयुक्त उक्त क्षेत्रको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न तत्काल ठोस कदम चाल्न मातहतका निकायलाई निर्देशन दिए ।

Share News