चिकित्सक संघले भन्यो- आइतबार सेवा दिन सक्दैनौँ

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार अस्पतालमा ओपीडी सेवा प्रदान गर्न नसकिने बताएको छ । शुक्रबार विज्ञप्ति जारी गरेर आइतबारको हकमा आफ्नो कामको भार र जनशक्तिको संख्या हेरेर सेवा उपलब्ध गराउन नसकिने संघले जनाएको छ ।

संघले अस्पतालहरूमा जनशक्ति नथपिएकाले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन नसकिने उल्लेख गरेको हो । 

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ९ देखि ५ बजेको ड्युटी बाहेक अनकल, राउण्ड र इमर्जेन्सी लगायतका सेवा चौबिसै घण्टा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्याय पूर्ण रहेको संघको ठहर छ। 

नेपाल सरकारद्वारा स्वास्थ्य संस्थामा रहेका जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त अनुरोध कार्यान्वयन गर्न नसकिने र कामको लोड भएकै कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या देखा पर्ने सम्भावना रहेको संघले प्रस्ट पारेको छ ।

अस्पतालका कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसकेकाे सट्टा बिदा उपलब्ध गराउने भनिएकोमा विगतमा विभिन्न कानूनी कारण देखाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बिदा उपयोग गर्नबाट वञ्चित गरिएको संघले बताएको छ ।

विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरूपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरू अन्योलमा पर्ने गरेको संघको दाबी छ । अनावश्यक झन्झट व्यहोर्नुपर्ने हुनाले यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने संघले उल्लेख गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि सेवालाई निरन्तरता दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । अस्पतालहरूले कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ । मन्त्रालयका अनुसार अनुसार बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

यसैगरी, उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागु गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ।

null

 

 

Share News