काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका–इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबीच पाकिस्तानको राजधानी इस्लामावादमा केन्द्रित भएको छ । केही हप्तायता जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको यो पहललाई पाकिस्तानी नेतृत्वले ‘मेक वा ब्रेक’ चरणको संज्ञा दिएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिबार इस्लामावाद आइपुगेका छन् । उनलाई पाकिस्तानका सेना प्रमुख असीम मुनीरले नुर खान एयरबेसमा स्वागत गरेका थिए, जहाँ अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुसनर पहिले नै उपस्थित रहेका थिए । उता, इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल पनि रातारात राजधानी नजिकै अवतरण गरेको थियो ।
यद्यपि, दुवै पक्ष वार्तामा सहभागी भए पनि उनीहरूबीच विश्वासको गम्भीर अभाव देखिएको छ । इस्लामाबाद अवतरण गरेलगत्तै कालिबाफले ‘हामीसँग राम्रो मनसाय छ, तर विश्वास छैन’ भन्दै विगतका अनुभवले अमेरिकी प्रतिबद्धतामा भरोसा गर्न कठिन भएको संकेत गरेका छन् ।
अमेरिकी पक्षबाट भने भान्सले प्रस्थानअघि नै सकारात्मक सङ्केत दिएका थिए । उनले इरानले सद्भावका साथ वार्ता गरे अमेरिका पनि खुला रूपमा अघि बढ्न तयार रहेको बताए । तर, छलकपटको प्रयास भएमा कडा प्रतिक्रिया आउने चेतावनी पनि उनले दिएका थिए ।
यसबीच, युद्धविराम स्वयं नै कमजोर अवस्थामा रहेको छ । विशेषगरी लेबनानमा इजरायलको निरन्तर आक्रमणहरूले स्थिति थप जटिल बनाएको छ । युद्धविराम लागू भएको ४८ घण्टा नबित्दै सयौँको ज्यान जाने गरी भएको बमबारीले शान्ति प्रक्रियामाथि प्रश्न उठाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले यस अवस्थालाई ‘अझ कठिन चरण’ मा प्रवेश गरेको भन्दै आगामी वार्ता सहज नहुने स्पष्ट पारेका छन् । उनका अनुसार फेब्रुअरी २८ मा सुरु भएको युद्धलाई अन्त्य गर्न अहिलेको प्रयास निर्णायक मोडमा पुगेको छ ।
वार्ताको एजेन्डामा मुख्य रूपमा रणनीतिक स्ट्रेट अफ होर्मुज, इरानी सम्पत्तिको अवरोध, लेबनानको अवस्था र आणविक कार्यक्रमजस्ता संवेदनशील विषयहरू रहेका छन् । अमेरिकाले जलडमरूमध्य पुनः खोल्नुपर्ने माग राखेको छ भने इरानले लेबनानलाई पनि युद्धविरामको दायरामा समेट्नुपर्ने अडान लिएको छ ।
विश्वको करिब पाँचौँ भाग कच्चा तेल बग्ने स्ट्रेट अफ होर्मुज अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई चाँडै खोल्ने प्रतिबद्धता जनाउँदै इरानसँगको वार्तामा ‘आणविक हतियाररहित’ सुनिश्चित गर्नु प्रमुख लक्ष्य रहेको बताएका छन् ।
इस्लामाबादमा वार्तालाई लक्षित गर्दै कडा सुरक्षा व्यवस्था गरिएको छ । ‘रेड जोन’ क्षेत्रमा प्रहरी र अर्धसैनिक बलको ठूलो उपस्थिति देखिएको छ भने मुख्य सडकहरू नियन्त्रणमा लिइएका छन् । प्रतिनिधिमण्डल बस्ने होटलहरू पनि विशेष सुरक्षामा राखिएका छन् ।
वार्ता प्रत्यक्ष हुने कि अप्रत्यक्ष भन्ने अझै स्पष्ट छैन । यसअघि ओमानको मध्यस्थतामा भएको जस्तै अप्रत्यक्ष ढाँचा अपनाइने सम्भावना पनि रहेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । पाकिस्तानले वार्तालाई सहज बनाउन विभिन्न विषयका विज्ञहरूको टोली पनि परिचालन गरेको छ ।
यस प्रक्रियालाई अन्य क्षेत्रीय शक्तिहरूले पनि नजिकबाट हेरिरहेका छन् । इजिप्ट, टर्की र चीनले मध्यस्थतामा भूमिका खेलेका छन् भने चीनलाई सम्भावित दीर्घकालीन सम्झौताको ग्यारेन्टरका रूपमा पनि हेरिएको छ । अमेरिकी पक्षले समेत चीनले इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको स्वीकार गरेको छ ।
तर, मैदानमा जारी हिंसाले वार्ताको सफलतामा चुनौती थपेको छ । इजरायलले लेबनानलाई हालको युद्धविरामको दायरामा नराख्ने अडान लिएको छ भने हिजबुल्लाहले इजरायली सेनामाथि ड्रोन र रकेट आक्रमण जारी राखेको दाबी गरेको छ । इजरायलका लागि अमेरिकी राजदूतले पनि हिजबुल्लाहसँग युद्धविरामबारे छलफल नगर्ने सङ्केत दिएका छन् ।
यसबीच, तेहरानका सर्वसाधारणमा पनि वार्ताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । एक स्थानीय बासिन्दाले वार्ता सफल हुनेमा शङ्का व्यक्त गर्दै अमेरिकी अभिव्यक्तिलाई ‘हल्ला र अवास्तविक’ भनेका छन् । रासस