चार करोड बढी राजस्व ठगी गरेका महत्तो पक्राउ

काठमाडौं । राजस्व चुहावटमा ठगी गरेको र ठगी मुद्दामा फरार रहेका दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । 

राजश्व चुहावट मुद्दामा उच्च अदालत पाटनको २०८१ वैशाख १७ गतेको फैसलाअनुसार ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय तोकिएका प्रविणकुमार महतोलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । 

सर्लाही घर भई कुलेश्वरमा बस्दै आएका उनलाई प्रहरीले चैत २७ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेको छ।

यस्तै, ठगी मुद्दामा सर्वोच्च अदालतको २०८२ वैशाख २ गतेको फैसलाअनुसार २५ हजार रुपैयाँ जरिवाना र २ वर्ष ६ महिना कैद सजाय तोकिएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक महेन्द्र केसी पनि पक्राउ परेका छन्।

बागलुङ घर भई काठमाडौँको सामाखुसीमा बस्दै आएका उनलाई पनि सोही दिन प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालत ललितपुरमा बुझाएको छ । दुवै प्रतिवादीलाई अदालतको फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ ।     

Share News