सडक किनारैमा फूल रोप्दै काठमाडौं महानगर, सुन्दर सहर बनाउने अभियान

काठमाडौं । काठमाडौंलाई सुन्दर बनाउन काठमाडौं महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ।

पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाअन्तर्गत ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अनुसार गमलामा फूल रोप्ने काम सुरु गरिएको हो।

आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार हाल सिंहदरबार अगाडिको क्षेत्रमा वेगमवेली जातका फूल रोपिएका छन् । यो फूल पहेँलो, रातो, गुलाबी लगायत विभिन्न रङमा फुल्ने गर्दछ।

फूल फुलाउने कार्यलाई नियमित र व्यवस्थित बनाउन सिमेन्टका गमला प्रयोग गरिएको छ। सडक किनारका ठूला स्थायी गमलामा बिरुवा रोप्ने, गोडमेल गर्ने तथा नियमित पानी हाल्ने काम वातावरण व्यवस्थापन विभागले गरिरहेको छ।

यस कार्यक्रमलाई विस्तार गर्दै आगामी दिनमा भित्री सहरी क्षेत्रमा पनि गमला राख्दै लैजाने योजना रहेको श्रेष्ठले बताए ।

Share News