काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट लागूऔषध खैरो हेरोइन, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित २ जनालाई शुक्रबार पक्राउ गरिएको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइँयाघाटबाट लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । पाँचैजना अभियुक्तलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
यस्तै, सुनसरीकाे कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका-५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत-१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको हो ।
मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शङ्का लागेर निरीक्षण गर्दा स्रोत नखुलेको रकमसहित शुक्रबार नियन्त्रणमा लिइएको हो ।