कटन कपास उद्योगमा आगलागी, ३० लाख बढीको क्षति

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु कर्मीटोलस्थित कटन कपास उद्योगमा शुक्रबार आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

विद्युत् चुहावटबाट उद्योगमा आगलागी भएको बताइएको छ । यसबाट कटिङ कपास मेसिन ६, चाइनिज कटिङ मेशिन र कम्प्रेसर मेसिन १/१, प्रेस मेसिन ३, स्टाटर ७, एमसिबि ७ मेसिनरी सामग्री र तयारी सेतो र कालो कपाससँगै उद्योगको कच्चा पदार्थमा क्षति भएको आगलागी नियन्त्रणमा खटिएका जुद्ध वारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले जानकारी दिए ।

आगलागी भएको जानकारी पाउने बित्तिकै ४ दमकल सहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतको टोलीले संयुक्त रूपमा ३ घण्टाको अथक प्रयासमा आगलागी नियन्त्रण भएको कार्यालयका सूचना अधिकारी हिमाल घर्तीमगरले बताए । 

आगलागीबाट ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेकाे जिल्ला प्रहरी परिसरले जनाएको छ । 

Share News