काठमाडौं । काठमाडौंको गौशालाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति पौने १२ बजे गौशालास्थित एक होटलबाट लागूऔषध र नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा २६ वर्षीय माधव कुमार साह र ३२ वर्षीया मिना कुमारी अधिकारी रहेका छन् । उनीहरूको साथबाट ३०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
लागूऔषधका साथै उनीहरूको साथबाट नगद ५७ हजार रुपैयाँ समेत बरामद भएको छ ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन अनुसार थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।