काठमाडौं । साझा यातायातले सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन डिजिटल रूपान्तरणको सुरुवात गरेको छ ।
ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा अत्याधुनिक कृत्रिम बाैद्धिकता (एआई) प्रविधिमा आधारित कन्ट्रोल रुम स्थापना भएसँगै साझाले नयाँ फड्को मारेको हो ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार यो प्रणाली अहिले परीक्षणको अन्तिम चरणमा छ र आगामी २०८३ वैशाख दोस्रो वा तेस्रो हप्ताभित्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
कन्ट्रोल रुमले साझाका गाडीहरूमा जडान गरिएका सीसीटिभी क्यामेरा र जीपीएस प्रणालीलाई एउटै प्लेटफर्ममा जोड्नेछ ।
यसबाट कार्यालयबाटै गाडीभित्र र बाहिरका गतिविधिहरू लाइभ हेर्न सकिनेछ । यात्रुमाथि हुने दुर्व्यवहार रोकथाम गर्न र सामान हराएमा तत्काल ट्र्याकिङ गर्न सजिलो हुनेछ ।
यदि चालक निदाएमा, सवारी चलाउँदा धुम्रपान गरेमा वा असामान्य व्यवहार देखाएमा प्रणालीले तत्काल कन्ट्रोल रुममा नोटिफिकेसन पठाउनेछ ।
गाडीको गति, दुई गाडी बीचको दूरी र बस स्टपमा रोकिने समयको डिजिटल अनुगमन हुनेछ ।
सीईओ अर्यालले भने, ‘अब यात्रुहरू ढुक्क भएर बस चढ्न सक्नेछन्, किनभने प्रत्येक गतिविधि र प्रत्येक व्यक्तिको चलायमान अवस्था रेकर्ड र निगरानीमा रहनेछ । केवल एक क्लिकमै सबै जानकारी हेर्न सकिने यो प्रविधिले सार्वजनिक यातायातमा पारदर्शिता र सुरक्षालाई नयाँ उचाइमा पुर्याउनेछ ।’
यात्रु र संस्थालाई हुने लाभ यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि सार्वजनिक यातायातमा देखिने अव्यवस्थित प्रतिस्पर्धा र ढिलासुस्ती अन्त्य हुने अपेक्षा गरिएको छ ।