विद्यार्थी संगठन खारेज गर्ने सरकारको कदमविरुद्ध संघ संगठन आन्दोलनमा उत्रिँदै

काठमाडौं । विद्यार्थी संगठन खारेज गर्ने सरकारको कदमविरुद्ध विद्यार्थी संघ संगठनहरू आन्दोलनमा उत्रने भएका छन् । संयुक्त विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो । 

आन्दोलनका कार्यक्रमअनुसार चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया गर्ने, चैत ३० गतेदेखि आगामी वैशाख ४ गतेसम्म देशका सबै जिल्लामा रहेका क्याम्पसमा छलफल तथा अन्तरक्रिया गर्ने तथा वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया गर्ने विद्यार्थीहरूले बताएका छन् । 

यस्तै, वैशाख ७ गतेदेखि ९ गतेसम्म क्याम्पसमा ब्यानर राख्ने, पर्चा बाँड्नेदेखि हस्ताक्षर संकलन गरिने, वैशाख ११ गते हरेक विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापनपत्र दिने, वैशाख १२ गतेः प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र वैशाख १५ गते काठमाडौंको बालुवाटार सहित देशभरि कापी-कलमसहितको प्रदर्शन गर्ने विद्यार्थी संगठनहरूले जनाएका छन् ।

विद्यार्थीहरूले सरकार निषेधको नीति लिने र जनताको आवाज थुन्ने कार्यमा अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले दलीय विचारसँग आवद्ध संगठनलाई खारेज गर्ने कार्य स्वीकार्य नहुने भन्दै एकतर्फीले सरकार अघि बढ्न खोजे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

Share News