औषधी व्यवस्था विभागका महानिर्देशक स्वास्थ्य मन्त्रालय तानिए, औषधी मूल्य बढाएको विषमा छानबिन गरिने

काठमाडौं । औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल छानबिनको दायरामा परेका छन् । कानुन विपरीत औषधीको मूल्यवृद्धि गरेको भन्दै सरकारले ढकालमाथि छानबिन गर्न भन्दै विभागबाट स्वास्थ्य मन्त्रालय तानेको छ । 

प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई पत्राचार गर्दै ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । निर्देशनपछि ढकाल मन्त्रालयमा तानिएका छन् । 

पत्रमा भनिएको छ, ‘औषधी व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी यस कार्यालयमा उजुरी प्राप्त भएकोले सो विषयमा के कसो भएको हो, औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, उक्त प्रक्रिया पूरा गरी काम भएको हो वा होइन, औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भए को कसको संलग्नता रहेको हो सो सम्बन्धमा सम्पूर्ण विषय समेट्ने गरी तथा मन्त्रालयबाट विषयगत विज्ञको सहायतामा तीन सदस्यीय छानबिन समिति गठन गरी यस कार्यालयलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशनानुसार अनुरोध छ ।’

पत्रमा प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधीको मूल्यवृद्धि गरिएको भनी प्रधानमन्त्री कार्यालयमा उजुरी परेको उल्लेख गरिएको छ ।

Share News