अत्यधिक भीड बढेपछि यात्रुको स्वागत र बिदाइमा विमानस्थलभित्र ३ जना मात्रै प्रवेश

काठमाडौं । अत्यधिक भीडभाड भएपछि विमानस्थलमा यात्रु स्वागत तथा बिदाइका लागि ३ जना मात्रै प्रवेश दिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलभित्रको अत्यधिक भीडभाड नियन्त्रण गर्न यात्रु स्वागत तथा बिदाइका लागि आउने आफन्तजनको संख्या सीमित गर्ने भएको हो ।

कार्यालयका अनुसार हाल विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको संख्या बढेसँगै यात्रुहरूको चाप पनि उल्लेख्य रूपमा वृद्धि भइरहेको छ । एक जना यात्रुको स्वागत वा बिदाइका लागि दशौं आफन्तजनसम्म विमानस्थल पुग्ने प्रवृत्तिका कारण विमानस्थल परिसरमा अत्यधिक भीडभाड हुने गरेको कार्यालयले जनाएको छ ।

यसरी हुने भीडभाडले सुरक्षा व्यवस्थामा चुनौती सिर्जना हुनुका साथै स्वदेशी तथा विदेशी यात्रुहरूको आवागमनमा असुविधा र विमानस्थल व्यवस्थापनमा समेत प्रतिकूल असर परेको जनाइएको छ । त्यसैले यात्रुको स्वागत तथा बिदाइका लागि बढीमा ३ जना मात्र आफन्तजन आउने व्यवस्था मिलाई सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरिएको छ ।

Share News