काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विभिन्न प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूलाई विद्यार्थी भर्ना शुल्क बापतको बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ ।
काउन्सिलले स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन गराउने संस्थाहरूले विद्यार्थी भर्ना बापत बुझाउनुपर्ने रकम लामो समयदेखि बाँकी रहेको जनाएको छ । पटक-पटक ताकेता गर्दा पनि केही कलेज तथा प्रतिष्ठानले बक्यौता रकम नबुझाएकाले २१ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्न आग्रह गरेको हो ।
निर्धारित समयावधिभित्र रकम नबुझाउने संस्थाहरूका हकमा काउन्सिलले कडा कदम चाल्ने चेतावनी दिएको छ । काउन्सिलका अनुसार त्यस्ता कलेजहरूको विद्यार्थी परीक्षण दर्ता तथा विदेशी चिकित्सक तथा शिक्षकहरूको दर्ता प्रक्रिया रोक्का गरिनेछ ।
साथै, समयमै बक्यौता रकम नबुझाउने प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूको नाम र बाँकी रकमसहितको विवरण सार्वजनिक गरिने पनि काउन्सिलले जनाएको छ ।