काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नै एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय कार्यालय, लैनचौरमा रहेको संस्थानले डेरी ब्वाई पदमा कार्यरत सरस्वती जोशीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
केन्द्रीय कार्यालयबाट वि.सं २०८२ चैत २२ गते पठाइएको पत्र काठमाडौं दुग्ध वितरण आयोजना, बालाजुमा बुझाउन पठाइए पनि जोशीले सो पत्र बुझ्न अस्वीकार गरेको जानकारी प्राप्त भएको संस्थानले जनाएको छ । वि.सं २०८२ चैत २५ गतेको पत्रअनुसार जोशी कार्यालयमा नियमित उपस्थित भए पनि आधिकारिक पत्र बुझ्न नमानेको उल्लेख गरिएको छ।
संस्थानका अनुसार, जोशीले विगतमा पनि महाप्रबन्धक (जीएम) लगायतका पदाधिकारीप्रति अपमानजनक भाषा प्रयोग गर्ने, गालीगलौज गर्ने तथा सामाजिक सञ्जालमार्फत अनधिकृत सामग्री प्रसारण गरी संस्थाको मानमर्यादामा आँच पुर्याउने कार्य गर्दै आएको आरोप छ ।
यस्ता गतिविधि संस्थानको कर्मचारी प्रशासन विनियमावली, २०६३ (आठौं संशोधनसहित) विपरीत रहेको उल्लेख गर्दै विनियम १३४ उपविनियम (१) का खण्ड (ङ) र (च) अन्तर्गत कसुर गरेको ठहर गरिएको छ । सोही आधारमा विनियम १३७ उपविनियम (१) खण्ड (ग) बमोजिम किन निलम्बन नगर्ने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको हो । निर्धारित म्यादभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरेमा विभागीय कारबाही अघि बढाइने संस्थानले जनाएको छ ।