काठमाडौं । देशकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँचीको शितगंगा नगरपालिकाभित्र रहेका २९ विद्यालयका ५८३ विद्यार्थमध्ये १०५ जना अर्थात् १८.०१ प्रतिशत विद्यार्थी मात्र कक्षा ८ मा पास भए । यो नतिजाले विद्यालय तहको पढाइ र गुणस्तर छताछुल्ल भएको छ । अझ डरलाग्दो अवस्था त के भने पालिका भित्रका चार विद्यालयका एकजना विद्यार्थी पनि कक्षा ८ को परीक्षामा पास हुने सकेनन् ।
यसरी शून्य नतिजा ल्याउनेमा वडा नम्बर १ मा रहेको महेन्द्र मावि सुवर्णखाल, वडा नम्बर ११ मा रहेको धर्मोदय मावि सिद्धारा, वडा नम्बर १२ मा रहेको शान्ति आधारभूत विद्यालय टिकरी र वडा नम्बर १४ मा रहेको पार्वती आधारभूत सिमलपानी रहेका छन् ।
महेन्द्र मावि सुवर्णखालका ९ जना विद्यार्थीले परीक्षा दिएकोमा सबैजना फेल भएका छन् भने धर्मोदय मावि सिद्धाराका १४ जना विद्यार्थी सबै फेल भए । यस्तै, शान्ति आधारभूतका ७ जना र पार्वती आधारभूत सिमलपानीका ९ जना विद्यार्थी सबै फेल भएका छन् ।
यस्तै, पालिकाका विभिन्न वडामा रहेका पाँचवटा विद्यालयमा एक, एकजना विद्यार्थीमात्रै पास भएका छन् भने चार वटा विद्यालयमा २/२ जना विद्यार्थी मात्र पास भएका छन् । यो नतिजाले विद्यालय तहको पढाइ, सिकाइ र गुणस्तरमाथि प्रश्न उठाएको छ ।
नतिजा सार्वजनिकपछि पालिकाको शिक्षा विभागले विद्यार्थीको सिकाइको वास्तविकता बाहिर आएको प्रतिक्रिया दिएको छ । शीतगंगा नगरपालिका सहायक शिक्षा अधिकृत रामकुमार सिञ्जालीले यो नतिजाले विद्यार्थीहरूको वास्तविकता उजागर गरेको जानकारी दिए ।
कोरोना संक्रमणपछि बिग्रँदै गएको विद्यालय तहको सिकाइको गुणस्तर सुधार्नुपर्ने अवस्था रहेको अवस्थामा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत शिक्षा समितिका व्यक्तिको निर्णयमा परीक्षा गरिएको थियो ।
‘शिक्षाको गुणस्तर कसरी सुधार्न सकिन्छ भन्ने उद्देश्यले परीक्षा सञ्चालन गरिएको थियो,’ सिञ्जालीले भने, ‘अहिलेको नतिजाले वास्तविकता देखाएको छ । विद्यालय आफैंमा संस्था हो, विभिन्न विषयमा शिक्षक हुन्छन् । पढाइलाई कसरी कुन तरिकाले अगाडि बढाउने भन्ने योजना बनाएका हुन्छन् । पालिकाको काम त्यसलाई सहजीकरण गरिदिने हो । अब नतिजाले कसरी विद्यालय शिक्षा सुधार्ने भन्ने गम्भीर प्रश्न देखाएको छ, हामी यो विषयमा छलफल गर्छौं ।’
व्यापक समीक्षा गरेर सुधारमा लाग्ने योजना पालिकाको छ । यसका लागि सबै विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्ने योजना रहेको उनले जानकारी दिए ।
९० विद्यार्थीमा १२ जना पास
समस्या कुनै एक वा दुई पालिकामा मात्र छैन । प्रायः देशैभरिको कक्षा ८ को नतिजाले विद्यालय शिक्षाको गुणस्तर कति कमजोर छ भन्ने प्रस्ट देखिएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा ६ वटा विद्यालयका १२ जना विद्यार्थीमात्रै ९ कक्षा भर्ना हुन योग्य भएका छन् । जबकि परीक्षामा ९० जना विद्यार्थी सहभागी थिए । पालिकाले त्यहाँका १३.३ प्रतिशत विद्यार्थीमात्र विद्यार्थी पास भएको जनाएको छ ।
एउटा विद्यालयमा एक जना विद्यार्थी पनि पास हुन सकेनन् । पालिकाको वडा नम्बर ५ मा रहेको बुडाकुञ्जा आधारभूत विद्यालयका १० जना विद्यार्थीमध्ये एक जना विद्यार्थी पनि कक्षा ८ मा पास हुन नसकेको पालिकाले जनाएको छ ।
पालिकाको वडा नम्बर ३ मा रहेको हिमगङ्गा माविमा भने एकजना विद्यार्थी पास भएका छन् । परीक्षा दिएका १८ जना विद्यार्थीमध्ये एक जना विद्यार्थीमात्र माथिल्लो कक्षा चढ्न सफल भएका छन् ।
यस्तै, वडा नम्बर ५ मा रहेको चन्द्रज्योति माविका २३ जना विद्यार्थीले परीक्षा लिएकोमा २ जना मात्र पास भएका छन् । बाँकी अन्य विद्यालयबाट पनि तीन/तीन जना विद्यार्थी पास भएका छन् ।
लिखुपिके गाउँपालिकाका शिक्षा अधिकृत लछुमण विक पालिकामा रहेका तीन वटा माविमा दुई वटा प्रस्तावित र आधारभूत विद्यालय पनि सबै प्रस्तावित मात्र हुँदाको समस्या भएको बताउँछन् ।
‘राज्यले प्रस्तावित भनेर चलाइरहने, दरबन्दी पनि नदिने अनि तल्लो तहको शिक्षकले माथिल्लो तहसम्म पढाउनुपर्ने अनि शिक्षक समायोजन गर्न नसक्ने अवस्थाको परिणाम हो यो,’ उनले भने ।
यो पालिकामा भौगोलिक समस्या पनि उस्तै छ । विक विभिन्न समस्याका बावजुत शिक्षा दिइरहनुपर्ने र लिइरहनुपर्ने वास्तविकता यो नतिजाले देखाएको बताउँछन् । उनी भन्छन्, ‘केही पालिकाले राम्रो नतिजा देखाउन पनि विद्यार्थी पास गर्ने गरेको पाइन्छ । तर, हामीले ०.५ नम्बर पनि नथपेर वास्तविकता देखाएका छौं । सुधार्ने उद्देश्यले यस्तो नतिजा आएको हो ।’
राज्यले विद्यालय तहको शिक्षाको अधिकार पालिकालाई दिएको छ । आफ्नो क्षेत्रभित्रका शिक्षा कसरी सुधार्ने, राम्रो कसरी बनाउने भन्ने विषयमा पालिकाले ध्यान दिनुपर्ने हुन्छ । तर, विक राज्यले दिएको यो अधिकारलाई हतियारै नदिएर युद्धमा पठाएजस्तो भएको बताउँछन् ।
राज्यले अधिकार दिने तर दरबन्दी नदिने हुँदा विद्यालयमा निकै समस्या हुने गरेको उनले गुनासो पोखे । शिक्षक अभावमा कतिपय विद्यालयले नेपाली पढाउने शिक्षकलाई गणित र विज्ञानजस्ता विषय पढाउन लगाउँदा राम्रो नतिजाको अपेक्षा गर्न नसकिने जानकारी दिए ।
विक यस्तो नतिजा आउनु पछाडिको अर्को कारण अहिलेका शिक्षकहरू समयअनुसार परिवर्तन हुन नसक्नु रहेको पनि औंल्याउँछन् ।
५५८ विद्यार्थी मध्ये १०४ जना पास
अछामको मेल्लेख गाउँपालिका भित्रका ५५८ विद्यार्थीमध्ये १०४ जना विद्यार्थीमात्र कक्षा ९ मा भर्ना हुन योग्य बनेका छन् । पालिकामा रहेका १५ विद्यालयका अधिकांश विद्यार्थी फेल हुँदा पालिकाभित्र रहेका शिक्षकको आलोचना भइरहेको छ । पालिका भित्रका धेरैजसो नागरिकले सामाजिक सञ्जाल फेसबुक मार्फत नतिजा सार्वजनिक गर्दै शिक्षकको गुणस्तरमाथि नै प्रश्न गरिरहेका छन् ।
१५ विद्यालयमध्ये वडा नम्बर ४ मा रहेको सरस्वती आधारभूत विद्यालय राँफामा एक जना विद्यार्थीमात्र माथिल्लो कक्षा पढ्न योग्य बनेका छन् । जहाँ अध्ययनरत २१ विद्यार्थी परीक्षामा सहभागी हुँदा मात्र एक जना विद्यार्थी माथिल्लो कक्षा पढ्न योग्य बनेका हुन् ।
यस्तै, बासुकी माविमा ३५ जना विद्यार्थीमध्ये एक जना पास भएका छन् । यस्तै, जानकी आधारभूत विद्यालयका २८ विद्यार्थीले परीक्षा दिएकोमा ३ जना, जनता मावि ८० जना विद्यार्थीमध्ये तीन जना, पीपलचौर सामुदायिक विद्यालय २८ विद्यार्थीमध्ये ४ जना, मालिका आधारभूत विद्यालयमा २० जनामध्ये ४ जना र कालिका माविमा ३६ विद्यार्थीमध्ये ४ जना विद्यार्थीमात्र पास भएका छन् ।
सरस्वती आधारभूत विद्यालय राँफाका प्रधानाध्यापक मनोज साउँद नतिजा सुधार्ने योजना बनाइ कार्यान्वयन गर्दा समेत नतिजा राम्रो ल्याउन नसकेको भन्दै यसको सबै दोष स्वीकार्छन् ।
अघिल्लो वर्षको नतिजाले लज्जित भएको अवस्थामा यो वर्ष नतिजा सुधार्न विद्यालयकै लगानीमा मंसिर महिनादेखि शिक्षक, विद्यार्थीलाई विद्यालयमै बस्नखान मिल्नेगरी व्यवस्था गरेर थप कोचिङको पनि व्यवस्था गरिएको जानकारी दिए ।
तर, अहिलेको नतिजाले यो-यो गरेका थियौं भन्न मिल्ने अवस्था नआएको उनको भनाइ छ । उनी भन्छन्, ‘जे-जस्तो भए पनि विद्यार्थी फेल भइसके, कमजोरी भइहाल्यो यो जिम्मेवारीबाट हट्न मिल्दैन । अब थप कसरी सुधार्ने भन्ने विषयमा सबैसँग बसेर छलफल गर्ने योजनामा छु ।’
प्रधानाध्यापक साउँदका अनुसार अघिल्लो वर्ष गणित र अंग्रेजीमा विद्यार्थी निकै कमजोर देखिएका थिए । त्यो कमजोरीलाई मध्यनजर गर्दै विद्यालयले यी विषयमा ध्यान दिएको थियो । परिणामस्वरूप ७० प्रतिशत विद्यार्थीको नतिजा यो वर्ष गणित र अंग्रेजीमा राम्रो देखियो ।
कक्षा ८ को परीक्षाको नतिजा देशभरिका पालिकाले धमाधम सार्वजनिक गरिरहेका छन् । तर अधिकांश पालिकाको नतिजा निकै कमजोर देखिएको छ । देशैभरिको तथ्यांक भने तत्काल पाउन सकिने अवस्था छैन ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यो परीक्षाको सबै जिम्मा स्थानीय सरकारलाई हुने भएकाले तत्काल तथ्यांक उपलब्ध गर्न सकिने अवस्था छैन ।
विकास केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता महेन्द्र पराजुली कक्षा ८ मा कति विद्यार्थी पास भए, कति फेल भए भन्ने तथ्यांक बैशाखपछि मात्र उपलब्ध गर्न सकिने बताउँछन् ।
उनी भन्छन्, ‘अहिले सबै अधिकार पालिकालाई छ । कतिपय पालिकाले नतिजा नै निकाल्न सकेका छैनन्, यस्तो अवस्थामा तत्काल के कति भन्ने संख्या उपलब्ध गराउन मुस्किल छ ।’
अभिभावक र विद्यार्थी पनि दोषी
शिक्षा सम्बन्धी सरोकार राख्नेहरू भने यो नतिजाको मुख्य दोषी शिक्षकहरू भएको बताउँछन् । पुरातनवादी शिक्षण प्रवृत्तिले अब काम नगर्ने उनीहरूको भनाइ छ ।
शिक्षविद् विद्यानाथ कोइराला अभिभावक, विद्यार्थी राज्य यो विषयमा चुकिरहेको अवस्थामा सबैभन्दा ठूलो कमजोरी शिक्षकहरूको रहेको बताउँछन् ।
‘राज्यले एकातिर विद्यार्थी फेल नगर्ने नीति ल्याउने, अर्कोतिर विद्यार्थीको मनोदशा यस्तो छ,’ उनी भन्छन्, ‘यसमा राज्य शिक्षक अभिभावक सबैको दोष उत्तिकै देखिन्छ ।
तर, शिक्षकहरू भने अभिभावक र विद्यार्थीका कारण परीक्षाको नतिजा यति कमजोर आएको बताउँछन् । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मनोज साउँद आफ्नो विद्यायमा कक्षा ७ मा रहेका आधाभन्दा बढी विद्यार्थीको उपस्थिति ७० प्रतिशतभन्दा कम रहेको बताउँछन् ।
सरस्वती आधारभूतमा कक्षा ८ मा विद्यार्थी २३ जना विद्यार्थी भर्ना भएका थिए । तीमध्ये एक जनाको बिहे भयो भने अर्का एक जना भारत गए । २१ जना विद्यार्थी बाँकी रहे । तीमध्ये आधा बढी विद्यार्थी विद्यालयमा हाजिर नै भएनन् । यो विषयमा विद्यालयले समयसमयमा अभिभावक भेला आयोजना गर्यो । तर धेरै विद्यार्थीका अभिभावक घरमा भेटिएनन् ।
‘अधिकांश विद्यार्थीका आमाबुबा सबै भारत छन्, छोराछोरीलाई हातमा मोबाइल दिएका छन्, यता छोराछोरीको ध्यान पढाइभन्दा बढी मोबाइलमा हुन्छ । यस्तो अवस्थामा कसरी विद्यार्थीले राम्रो पढ्छन् अनि विद्यालयले राम्रो नतिजा ल्याउन सक्छ ?,’ साउँदले भने ।
अभिभावक पनि छोराछोरीको पढाइप्रति जिम्मेवार नहुँदा पनि समस्या भएको शिक्षकहरू बताउँछन् ।