४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित, फोनपेको वित्तीय शिक्षा अभियान सम्पन्न

काठमाडौं । फोनपेले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

‘स्मार्ट मनी टक्स: बचत, सोच र सुरक्षित निर्णय’ भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयबारे सचेत बनाइएको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत फोनपेले देशका ६ शहर र ४ प्रदेशमा रहेका १२ वटा कलेजमा १८ सत्र सञ्चालन गर्दै १,०९० भन्दा बढी विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराएको थियो ।

साथै विद्यालयस्तरमा ९ शहर र ५ प्रदेशका २८ विद्यालयमा कार्यक्रम सञ्चालन गरी ११ दिनको अवधिमा कुल ४,९६१ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रमहरूमा मनोरञ्जनात्मक तथा शैक्षिक गतिविधि समावेश गरिएको थियो, जसले विद्यार्थीहरूलाई खर्च व्यवस्थापन, बचतको महत्व र सही वित्तीय जानकारीको पहिचान गर्न सहयोग पुर्याएको बताइएको छ । कलेज तथा विद्यालयमा प्रस्तुत गरिएको नाटकमार्फत दैनिक जीवनका वित्तीय निर्णयहरूको प्रभावलाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो ।

यसै अभियानअन्तर्गत ‘फाइनान्सियल लिटरेसी स्टुडेन्ट भिजिट’ कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा ४० भन्दा बढी विद्यार्थीलाई फोनपे कार्यालयमा आमन्त्रण गरी डिजिटल भुक्तानी प्रणाली, वित्तीय सुरक्षा र वास्तविक कार्यस्थल अनुभवबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो । इन्टरएक्टिभ खेल तथा प्रत्यक्ष प्रस्तुतीमार्फत विद्यार्थीहरूलाई डिजिटल वित्तीय प्रणालीबारे थप बुझाइ दिइएको थियो ।

फोनपेले डिजिटल प्लेटफर्ममार्फत पनि अभियानलाई व्यापक बनाउँदै सामाजिक सञ्जालमा वित्तीय साक्षरतासम्बन्धी स्किट, छोटा भिडियो, विशेषज्ञमार्फत डिजिटल सचेतना सामग्री, युवा लक्षित सामग्री तथा सहभागिता अभिवृद्धि गर्ने अन्तरक्रियात्मक अभियानहरू सञ्चालन गरेको जनाएको छ ।

संस्थाले वित्तीय साक्षरता अभिवृद्धि गर्दै सुरक्षित, समावेशी र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ । 'आजको सचेत निर्णयले भोलिको सुरक्षित भविष्य निर्माण गर्छ' भन्ने सन्देशसहित आगामी दिनमा पनि यस्ता शिक्षामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको फोनपेले जनाएको छ ।      

Share News