काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेसँगै चैत २९ गते र ३० गते तय भएको महासंघको ६०औं वार्षिक साधारण सभा तथा अधिवेशन स्थगित भएको हो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनको संयुक्त इजलासका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालले अन्तरिम आदेश जारी गरेको हो । अदालतले यसअघि जारी भएको परमादेशअनुसार आवश्यक निर्णय नभएसम्म महासंघको साधारण सभा नगर्न/नगराउन आदेश दिएको हो ।
अदालतले २०८१ फागुन १६ गतेको परमादेश कार्यान्वयन नभएको अवस्थामा साधारण सभा सम्पन्न हुँदा निवेदकहरूलाई असर पर्ने देखिएको भन्दै उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेशअनुसार अब सम्बन्धित विषयमा अन्तिम निर्णय नभएसम्म महासंघको साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने भएको छ ।
