काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामको घोषणा भएपछि इजरायली मिडियाले यस सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेको छ । यस युद्धको कुनै पनि लक्ष्य हासिल हुन नसकेको इजरायली मिडियाको भनाइ छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान १४ दिनको युद्धविराम र होर्मुज स्ट्रेट पुनः खोल्ने घोषणा गरेका थिए । उनले होर्मुज स्ट्रेट खोल्न दिएको आफ्नो डेडलाइन सकिनु ठीकअघि यो घोषणा गरेका थिए ।
सम्झौताका लागि भइरहेको वार्ता असफल हुने र लडाइँ अझ तीव्र हुने इजरायली मिडियाले यसअघि अनुमान गरेको थियो । विशेषगरी दक्षिणपन्थी टिप्पणीकारहरू यसको पक्षमा थिए ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सुरुमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अंग्रेजीमा पोस्ट गर्दै भनेका थिए कि इजरायल ‘ट्रम्पको दुई हप्तासम्म हमला रोक्ने निर्णयलाई समर्थन गर्दछ ।’
पछि उनले हिब्रू भाषामा पनि विस्तृत पोस्ट गरेका थिए । उनले उक्त पोस्टमा इजरायलका केही लक्ष्यहरू अझै बाँकी रहेको र उक्त लक्ष्यहरू सम्झौतामार्फत वा पुनः लडाइँमार्फत हासिल गरिने बताएका थिए ।
इजरायलको सार्वजनिक प्रसारक ‘केन’ ले एक अज्ञात स्रोतलाई उद्धृत गर्दै भनेको छ कि सरकार ‘ट्रम्पको निर्णयबाट अचम्मित भएको थियो’ र उनीहरूलाई ‘अन्तिम समयमा मात्र जानकारी दिइएको थियो ।’
यो घोषणा पासओभर (यहूदी पर्व) का कारण मिडियामा सीमित रूपमा मात्र कभर भयो ।
दक्षिणपन्थी च्यानल १४ ले यो समाचार कभर गरेन, किनकि त्यो च्यानल बिदा र सप्ताहन्तमा प्रसारण गर्दैन । यो च्यानलले लडाइँको समर्थन गर्दै आएको थियो र ट्रम्पको प्रशंसा पनि गर्दै आएको थियो ।
मुख्यधाराका मिडिया संस्थाहरू भने अझै पनि युद्धकालीन नाराहरू देखाइरहेका थिए, जस्तै ‘युद्धमा सबै एक साथ ।’
विपक्षी नेताहरूले पनि युद्धविरामको कडा आलोचना गरेका छन् । याइर लपिडले यसलाई ‘राजनीतिक विपत्ति’ भनेका छन् भने याइर गोलनले ‘पूर्ण असफलता’ बताएका छन् ।
इजरायली मिडियामा द न्यू योर्क टाइम्सको एउटा रिपोर्टलाई पनि प्रमुखता दिइएको छ, जसमा इरानविरुद्धको युद्धमा अमेरिकालाई समावेश गराउन नेतान्याहूको कति प्रभाव थियो भन्ने उल्लेख गरिएको छ ।
विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् कि यस युद्धका कारण ट्रम्पसँगको सम्बन्ध बिग्रिएको छ, किनकि कुनै पनि लक्ष्य हासिल हुन सकेन ।
इजरायली अखबार हारेट्जका रक्षा विश्लेषक अमोस हरेलले युद्धविरामलाई ‘जाल’ बताएका छन् ।
उनले भने कि नेतान्याहूले ट्रम्पलाई यस्तो योजना प्रस्तुत गरेका थिए जसमा केही हप्तामै इरानको मिसाइल क्षमता समाप्त गर्ने, शासन कमजोर बनाउने र होर्मुज स्ट्रेट खुला राख्ने दाबी गरिएको थियो, तर त्यो सम्भव हुन सकेन ।
अमेरिकासँग इजरायलको शाख ‘निकै कमजोर भएको’ र अब ट्रम्पलाई ‘अनावश्यक युद्धमा तानिएको’ आरोप लागिरहेको छ ।
नेतान्याहूका नजिकका व्यक्तिहरूले यस अभियानका तीन मुख्य लक्ष्य बताएका थिए, जसमा इरानको सरकार गिराउनु, परमाणु कार्यक्रम समाप्त गर्नु र ब्यालिस्टिक मिसाइलको खतरा अन्त्य गर्नु रहेका छन् ।
तर हालसम्म यीमध्ये कुनै पनि लक्ष्य हासिल हुन सकेको छैन ।
‘केन’ की कूटनीतिक संवाददाता जिली कोहेनले नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ बताइन् ।
च्यानल १२ का पत्रकार युवल साडेले लेखेका छन्, ‘असफलता वा भनौं ठूलो अवसर गुमाएको अनुभूति भइरहेको छ ।’
‘जुन युद्ध ऐतिहासिक उपलब्धिको रूपमा सुरु भएको थियो, त्यो अहिले कमजोर राहतको साससहित अन्त्य भइरहेको छ,’ उनले थपे ।
नेतान्याहूले एक्समा भनेका छन्, ‘जब तपाईं बम शेल्टर र सुरक्षित कोठामा बसेर पनि दृढ रहनुभयो, हामीले मिलेर ठूलो जीत हासिल गर्यौं । हाम्रो लडाकुहरू मोर्चामा थिए र तपाईं गृह मोर्चामा ।’
‘इजरायल राष्ट्रले ठूलो सफलता हासिल गरेको छ । यस्ता सफलता, जुन केही समयअघिसम्म असम्भव जस्तै लाग्थ्यो । इरान पहिलेभन्दा धेरै कमजोर छ र इजरायल पहिलेभन्दा धेरै बलियो छ । अहिलेसम्मको अभियानको निष्कर्ष यही हो,’ उनले थपे ।
उनले अझै पनि केही लक्ष्यहरू बाँकी रहेको पनि बताए ।
इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलले सर्तसहित युद्धविरामको घोषणा गरेको थियो । त्यसपछि जारी गरिएको बयानमा भनिएको थियो कि सम्झौताका विवरण अन्तिम रूप दिन अधिकतम १५ दिनभित्र इस्लामावादमा वार्ता हुनेछ ।
बयानमा भनिएको छ कि यो वार्ता ‘मैदानमा इरानले हासिल गरेको जीतलाई राजनीतिक वार्तामा पनि सुदृढ बनाउन’ का लागि हुनेछ ।
काउन्सिलका अनुसार अमेरिका इरानविरुद्ध ‘आक्रामक कारबाही’ पुनः नगर्ने ग्यारेन्टी, होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण कायम रहने, युरेनियम सम्वर्धन स्वीकार गर्ने, सबै प्रतिबन्ध हटाउने, संयुक्त राष्ट्र सुरक्षा परिषद र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका सबै प्रस्ताव समाप्त गर्ने, इरानलाई क्षतिपूर्ति दिने, क्षेत्रबाट अमेरिकी लडाकु फौज फिर्ता गर्नेजस्ता शर्तहरू रहेका छन् ।
इरानी सरकार र सरकारी मिडियाले यस सम्झौतालाई ठूलो जीतका रूपमा प्रस्तुत गरिरहेका छन् ।
काउन्सिलले भनेको छ कि इरानले युद्धमा आफ्ना अधिकांश लक्ष्य हासिल गरेको छ र शत्रुले ऐतिहासिक असफलताको सामना गरिरहेको छ ।
युद्धको सुरुवातमै अलि खामेनेई र इस्लामिक रिभोल्युशनरी गार्ड कोरका वरिष्ठ जनरलहरूको अमेरिकी–इसराइली हमलामा मृत्यु भएको थियो । यो लडाइँ त्यहाँको शासनका लागि अस्तित्वको प्रश्न बनेको थियो ।
त्यसैले इरानले आफूलाई विजयी मानेको छ, किनकि उसले अमेरिका र इजरायलसँग ३० दिनभन्दा बढी चलेको युद्धमा टिकेर बाँच्न सफल भएको छ । त्यसैले इरानले आफूलाई विजेता भनेर प्रस्तुत गर्नु महत्त्वपूर्ण मानिएको छ ।
वार्ताको अर्को चरण सुरु हुन लाग्दा यो कुरा ध्यान दिनुपर्ने छ कि अमेरिका र इरानबीच विश्वासको निकै कमी छ । पछिल्लो एक वर्षमा इरान र अमेरिकाबीच दुई पटक वार्ता भएको छ, तर दुवैपटक वार्ताकै बीचमा युद्ध सुरु भएको थियो । (बीबीसीबाट अनुदित तथा सम्पादित)
इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत
‘बिटक्वाइनको स्रष्टा’ पहिचान गरेको ‘न्यूयोर्क टाइम्स’को दाबी