काठमाडौं । मेटलाइफ फाउन्डेसनले आफ्नो कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम (CIGP) अन्तर्गत नेपालसहित विभिन्न देशका गैरसरकारी संस्थाहरूलाई सामुदायिक आवश्यकता सम्बोधन गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
फाउन्डेसनले विश्वभरका संस्थाहरूलाई कुल ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको जनाएको छ । उक्त कार्यक्रममार्फत खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, वातावरणीय दिगोपन तथा समुदाय सशक्तीकरण क्षेत्रमा काम गर्ने संस्थाहरूलाई सहयोग गरिएको हो ।
यस वर्ष विश्वभरका १०० भन्दा बढी संस्थाले अनुदान प्राप्त गरेका छन्, जसमा नेपालका दुई संस्था पनि समावेश छन् ।
सोलुखुम्बुको सोलुचामले ‘Awake’ परियोजनाका लागि दुई वर्षको अवधिमा १,१०,००० अमेरिकी डलर अनुदान प्राप्त गरेको छ। परियोजनामार्फत तीन हजारभन्दा बढी स्थानीयलाई वातावरण संरक्षणसम्बन्धी तालिम, फोहोर व्यवस्थापन, वृक्षरोपण तथा पानी र सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै, सोसेक नेपालले ‘SAFE’ कार्यक्रमका लागि दुई वर्षका लागि १,००,००० अमेरिकी डलर सहयोग पाएको छ । कार्यक्रमले किसान, युवा तथा साना व्यवसायलाई दीर्घकालीन खाद्य सुरक्षा, सीप विकास, आर्थिक सुदृढीकरण र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।
मेटलाइफ फाउन्डेसनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टिया होजेसले समुदायको समग्र कल्याण सुधार गर्ने संस्थामा लगानी गर्दै व्यक्तिहरू र परिवारलाई दीर्घकालीन रूपमा सक्षम बनाउने उद्देश्य रहेको बताएका छन् ।
सन् २०२३ मा सुरु गरिएको यो कार्यक्रम २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको हो । हालसम्म कार्यक्रममार्फत २०७ संस्थालाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकिएको छ, जसबाट विश्वभर १.६ मिलियनभन्दा बढी मानिस लाभान्वित भएका छन् ।