मर्चेण्ट बैंकिङ सेवामा प्रवेश गर्दै कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सेवा सञ्चालन गर्ने उद्देश्यसहित आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीका रूपमा सञ्चालन गर्ने भएको छ ।

बैंकका अनुसार कम्पनीलाई सहायक संस्थाका रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ । यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक शेयर खरिद–बिक्री सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भइसकेको थियो ।

राष्ट्र बैंकबाट लगानी स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्रसम्बन्धी कानुन तथा नियामकीय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गरी मर्चेण्ट बैंकिङ सेवा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

हाल आकाश क्यापिटल लिमिटेडको नाममा रहेको कम्पनी अब कामना सेवा विकास बैंकको सहायक कम्पनीका रूपमा 'कामना सेवा क्यापिटल लिमिटेड' नामबाट सञ्चालन हुनेछ । यस कदमबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजार विकासमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

Share News