अमेरिकी उपराष्ट्रपति भन्छन्, ‘इरानले गलत बुझ्यो, युद्धविराममा लेबनान समावेश छैन’

अमेरिकी उपराष्ट्रपति जेडी भेन्स । फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिका र इरानबीच भएको युद्धविराममा लेबनान समावेश नभएको बताएका छन् ।

रोयटर्सका अनुसार भेन्सले बुडापेस्टमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मलाई लाग्छ यहाँ गलत बुझाइ भएको छ । इरानीहरूले युद्धविराममा लेबनान पनि समावेश छ भन्ने ठाने तर वास्तविकता त्यस्तो होइन ।

उनले अमेरिका पक्षको धारणा युद्धविरामलाई इरान र अमेरिकाका सहयोगीहरूबीच केन्द्रित राख्ने रहेको बताए, जसमा इजरायल र खाडीका अरब देशहरू समावेश छन् ।

भेन्सले भने, ‘इसराइलले लेबनानमा संयमता देखाउने सहमति त जनाएको छ, तर यसबारे विस्तृत जानकारी दिएको छैन ।’

उनले थपे, ‘मेरो बुझाइअनुसार, इजरायलले लेबनानमा केही हदसम्म आफूलाई नियन्त्रणमा राख्ने प्रस्ताव गरेको छ, किनकि उनीहरू हाम्रो वार्ता सफल होस् भन्ने चाहन्छन् ।

यसअघि बुधबार शेहबाज शरिफले युद्धविराम लेबनानमा पनि लागू हुने बताएका थिए।

तर इसराइलले आफ्नो आधिकारिक वक्तव्यमा दुई साताको युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको स्पष्ट पारेको थियो ।

इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत

Share News