काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा प्रहरीले छाड्ने निर्णय गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले सर्वोच्च अदालतको आदेश अनुसार दुवैलाई छाड्ने निर्णय भएको जानकारी दिए ।
‘आवश्यक अवस्थामा उपस्थित हुनेगरी हाजिरी हुने शर्तमा जमानीमा छाड्ने तयारी भएको हो,’ उनले भने, ‘हामी अब उहाँहरूको सबभन्दा नजिकको मानिसको जिम्मामा छाड्छौं ।’
प्रहरीले दुवै जनामाथि भदौ २३ को घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
उनीहरूलाई पछिल्लो पटक ५ दिनको म्याद थप गरिएको थियो । उक्त म्याद गएराति सकिएसँगै आज उनीहरूलाई छाडिने भएको हो ।
चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो ।
ओली पत्नी राधिका र लेखक पत्नी यशोदाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न अदालतले भनेको थियो ।