काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ । कम्पनीले विद्यार्थीलाई सहुलियत दरमा नयाँ सिमकार्ड तथा विभिन्न बोनस सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त अफर ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार अफर चैत २६ गतेदेखि सुरु भई आगामी असार २६ गतेसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत विद्यार्थीहरूले २० रुपैयाँमै नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन् भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीले पनि सोही नम्बरमार्फत अफर लिन सक्नेछन् ।
नयाँ सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न सेवा सुविधा उपलब्ध हुनेछन् । प्याकेजअन्तर्गत दैनिक २० मिनेट अन–नेट भ्वाइस, १० वटा एसएमएस तथा ५०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
यसैगरी ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा अतिरिक्त बोनस सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । बोनसअन्तर्गत डेटा, भ्वाइस कल र एसएमएस सेवा निश्चित अवधिसम्म प्रयोग गर्न सकिनेछ ।
अफर लिन विद्यार्थीले एसईई प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको प्रतिलिपि, फोटो तथा नागरिकता वा सरकारी परिचयपत्रसहित आवेदन दिनुपर्नेछ । सिम सक्रिय गर्न तथा अफर प्रयोग गर्न कम्पनीले तोकेको नम्बर डायल गरी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विद्यार्थीको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै अघिल्लो वर्षझैँ यस वर्ष पनि योजना निरन्तरता दिइएको कम्पनीले जनाएको छ । यसबाट विद्यार्थी वर्ग लाभान्वित हुने अपेक्षा गरिएको छ ।