काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको मनोबल बढाउन र विद्यमान आर्थिक चुनौतीहरूलाई चिर्दै लगानीमैत्री वातावरण निर्माण गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आफूले पदभार ग्रहण गर्दाको कठिन समय र त्यसपछिका सुधारका प्रयासहरूबारे विस्तृत जानकारी गराएका हुन् ।
अध्यक्ष ढकालका अनुसार महासंघको नेतृत्व सम्हाल्दा मुलुकको अर्थतन्त्रमा उच्च ब्याजदरको दबाब थियो भने रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा परेको प्रभावले नेपाली बजारलाई पनि असहज बनाएको थियो ।
‘तत्कालीन संकट समाधान गरी वैदेशिक लगानी भित्र्याउने वातावरण बनाउनु मेरा लागि मुख्य चुनौती थियो,’ उनले भने, ‘त्यसका साथै दक्ष जनशक्ति उत्पादन र व्यावसायिक मनोबल बढाउनु पनि उत्तिकै आवश्यक थियो ।’
आफ्नो कार्यकालको प्रमुख सफलताका रूपमा उनले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार हुनबाट रोकेको विषयलाई उल्लेख गरे ।
शपथ ग्रहण गरेकै दिन निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने अवस्था आए पनि त्यसलाई कानुन सम्मत रूपमा रोक्न सफल भएको उनको दाबी छ ।
यस्तै, बागलुङको ढोरपाटनमा बसेको कार्यकारिणी समितिको बैठकले निजी क्षेत्रको हितमा ऐतिहासिक निर्णयहरू गरेको समेत उनले स्मरण गरे ।
नेपाल विद्युत् प्राधिकरणको महसुल भुक्तानीमा देखिएको विवाद समाधान गर्न महासंघले अभिभावकीय भूमिका निर्वाह गरेको बताउँदै ढकालले भने, हरेक आन्दोलनको निशानामा निजी क्षेत्र पर्ने गरेको छ । ८१ प्रतिशत योगदान पुर्याउने क्षेत्रमाथि हुने यस्ता आक्रमणबाट सुरक्षाका लागि महासंघले ठोस निर्णयहरू अघि बढाएको छ।’
अध्यक्ष ढकालले लगानी प्रवर्द्धनका लागि प्रधानमन्त्रीको उपस्थितिमा चीन, दुबई, भारत लगायतका देशका लगानीकर्ताहरूसँग छलफल गरी नेपालमा लगानी भित्र्याउन आग्रह गरिएको जानकारी दिए ।
ठूला आयोजनाहरूको निर्माणका लागि महासंघकै अग्रसरतामा १० अर्ब रुपैयाँ पुँजी भएको कम्पनी खडा गरिएको उनको भनाइ छ ।
अन्तमा आफ्नो प्रतिबद्धता बमोजिम नै महासंघको विधान संशोधन गर्न सफल भएको बताउँदै उनले उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा धेरै कानुनहरू परिमार्जन भइरहेको र बाँकी सुधारका लागि वर्तमान सरकारसँग निरन्तर सहकार्य भइरहेको पनि उल्लेख गरे ।