अर्थतन्त्रको हटसिटमा ‘तीन भाइ’

आर्थिक विकासका लागि प्रधानमन्त्री बालेनले छानेका तीन पात्र वास्तवमै ‘सुपरम्यान’ हुन् ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. गुणाकर भट्ट । नेपाल राष्ट्र बैंकमा गभर्नर डा. विश्वनाथ पौडेल । 

वाह ! कस्तो राम्रो टिम । विषय विज्ञता, अनुभव र पदीय जिम्मेवार । पूर्ण बहुमतको सरकारको अर्थमन्त्री डा. वाग्लेले आगामी पाँच वर्ष अर्थमन्त्रालय हाँक्ने सम्भावना छ, यदि जनमतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गएन र अनपेक्षित उथलपुथल भएन भने ।

५ वर्षका लागि नियुक्त गभर्नर जसको कार्यकाल ४ वर्ष २ महिना बाँकी नै छ । अरू राजनीतिक नियुक्ति खानेलाई राजीनामा गर्न दबाब दिइरहेको वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले जिम्मेवारी सम्हालेको पहिलो साता नै गभर्नर पौडेललाई भेट दिएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । डा. पौडेललाई गभर्नरबाट विदा गर्ने अनुमान र शंकाहरूलाई प्रधानमन्त्री बालेनले सुरुमै खारेज गरिदिए । 

बालेन प्रधानमन्त्री र वाग्ले अर्थमन्त्री हुँदासम्म डा. भट्टले पनि योजना आयोगको उपाध्यक्ष पद छोड्नु पर्दैन । मोटामोटी ५ वर्ष तीनै जनाले अर्थतन्त्रको नेतृत्व गर्न सक्ने सम्भावना छ । 

डा. वाग्ले, डा. भट्ट, डा. पौडेल तीन भाइमा तीन समानता छ । पहिलो, तीनै जना अर्थनीति र देशको अर्थतन्त्रबारे जानकार छन्, विश्व अर्थतन्त्रबारे पनि जानकार छन् । दोस्रो, तीनै जना उदार अर्थतन्त्रका पक्षपाती हुन् । तीनै जना उदार अर्थतन्त्रभित्र पनि बलियो सरकार र प्रभावकारी नीतिको पक्षपाती हुन् । 

संयोग तीनै जना विगतमा नेपाली कांग्रेसले पत्याएका व्यक्ति हुन् ।  तेस्रो, तीनै जना सैद्धान्तिक ज्ञानका साथै अनुभवले खारिएका व्यक्ति हुन् । उनीहरू सिद्धान्तका व्याख्यता मात्र होइन, कुशल व्यवस्थापक पनि हुन् । तीनै जना ननक्रप्ट र सुधारवादी परिचय बनाएका व्यक्तित्व पनि हुन् । 

अर्थमन्त्री वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । वाग्लेसँग राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी) को एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव छ । उनले सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस), विश्व बैंक र काठमाडौं विश्वविद्यालयमा पनि आबद्ध भएर काम गरेका थिए ।

वाग्ले देशको आर्थिक नीति योजना कार्यक्रम र वैचारिक विमर्शहरूमा सक्रिय रहँदै आएका छन् । उनले लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेका छन् । सन् २०२२ मा उनले क्याम्ब्रिज युनिभर्सिटीको ‘द ग्रेट अपहिभेल’ को सह–सम्पादकका रूपमा काम गरेका थिए ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भएर काम गरिसकेका उनले नेपालमा अर्थतन्त्र सुधारको क्षेत्रमा वकालत गर्दै आएका छन् । उनले काम गरिसकेको ठाउँमा अहिले डा. भट्ट पुगेका छन् । 

भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । कर्मचारी नियमावलीअनुसार कार्यकारी निर्देशक भएको सात वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्थाअनुसार केही महिनाअघि भट्टले अवकाश पाएका थिए । उसो त गत बैशाखमा गभर्नर बन्नका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत नभएपछि गभर्नर बन्ने बाटो रोकियो । 

भट्टले व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर तथा अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । सुदूरपश्चिमको डोटीमा जन्मेका भट्टले राष्ट्र बैंकमा रहँदा विभिन्न विभाग तथा प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए । 

गभर्नर पौडेल वर्तमान अर्थमन्त्री वाग्लेका शिष्य भन्ने गरिन्छ । गभर्नर पौडेलले २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरेका छन् । पौडेलको विषय विज्ञता अर्थशास्त्रका अलावा कृषिस्रोत, स्रोत व्यवस्थापन र श्रम अर्थतन्त्र र आर्थिक इतिहासमा छ । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ ।

२०७८–८० मा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको रूपमा काम गरेका पौडेल पनि २०७८–७९ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका थिए । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (ईसीमोड)को बोर्ड अध्यक्ष समेत भएका पौडेल सन् २०१५–१७ मा मिलेनियम च्यालेन्ज नेपालमा अर्थशास्त्रीका रूपमा काम गरेका थिए ।

पौडेलसँग चीनको सिचुवान विश्वविद्यालय, चिनको साउथ चाईना एग्रिकल्चर युनिर्भसिटीदेखि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा भिजिटिङ प्रोफेसरको अनुभवसमेत छ । पौडेलले माईक्रोफाईनान्सदेखि श्रम र सामाजिक अर्थशास्त्र र वातावरण र जलस्रोतजस्ता विषयमा अनुसन्धानपत्रहरू प्रकाशित गरेका छन् ।

तीनै जना विषयविज्ञ र आफ्नो क्षेत्रमा पृथक परिचय बनाएका पात्रहरू हुन् । दीर्घकालीन योजना र नीति निर्माणमा योजना आयोगले प्रभावकारी काम गर्न सक्छ । वित्तीय क्षेत्रको विकास, स्थायीत्व र आन्तरिक स्रोत परिचालनमा राष्ट्र बैंकको अहम् भूमिका हुन्छ । बजेट निर्माण र कार्यान्वयनमा अर्थमन्त्रालय स्वाभाविक रूपमा नेतृत्वदाही भूमिका भएको मन्त्रालय हो । 

बिहानीले दिनको संकेत गरेझै बालेन सरकारको पहिलो दुई साता नै आशालाग्दो देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सक्रियता र सामर्थ्यको प्रभाव राजनीति र प्रशासनिक फाँटमा देखिनै सकेको छ । राजनीतिक तहमा केपी शर्मा ओली र रमेश लेखकमाथिको अनुसन्धान, व्यावसायिक क्षेत्रमा दीपक भट्ट र शंकर अग्रवालमाथिको अनुसन्धान, सेवाग्राही क्षेत्रमा बिचौलियाहरूमाथिको सूक्ष्म निगरानीले सरकार बलियो छ, सरकारले काम गर्न खोजेको छ भन्ने प्रष्ट संकेत गरेको छ । 

ऊर्जा संकटसँग जुध्न सातामा २ दिन बिदा दिने, सरकारी तथा सार्वजनिक सेवा ९ बजेदेखि ५ बजेसम्म गर्ने, पेट्रोलिम पदार्थको मूल्यवृद्धिको चाप कम गर्न भन्सार कर र पूर्वाधार विकास शुल्कमा ५०/५० प्रतिशत घटाउने सरकारी निर्णय संकट व्यवस्थापनतर्फ राम्रो प्रयास हुन् । मन्त्रालयको संख्या काम गर्ने, सरकारी उच्च अधिकारीहरूको मनोमानी र सुविधा कटौती गर्ने, समयतालिकासहित १०० कार्यसूची बनाएर काम थाल्ने सरकारको प्रयासले मानिसहरूमा आशा वृद्धि नै गरेको छ । 

बालेन सरकारले अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेको व्यक्तिहरूको व्यक्तित्वले पनि वर्तमान सरकारप्रतिको विश्वास झनै बढाएको छ । आर्थिक विकासका लागि प्रधानमन्त्री बालेनले छानेको तीन पात्र वास्तवमै ‘सुपरम्यान’ हुन् । ठीक ठाउँमा ठिक व्यक्तिलाई जिम्मेवारी दिनु नै सफलताको मुल आधार हो । बालेनले आफ्नो काम गरेका छन् । अब काम गरेर नतिजा दिने जिम्मेवारी डा. वाग्ले, डा. भट्ट र डा. पौडेलको काँधमा आएको छ । 

Share News