संविधान संशोधनको ढोका खुल्दै, बहसपत्र कार्यदलको पहिलो बैठक आज

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न नेपाल सरकारद्वारा गठन गरिएको कार्यदल–२०८२ को पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित उक्त कार्यदलले संविधान संशोधनसम्बन्धी बहसलाई संस्थागत ढंगले अघि बढाउने जिम्मेवारी पाएको छ । कार्यदलमार्फत राजनीतिक सहमतिको आधार तयार गर्ने सरकारको तयारीका रूपमा यसलाई हेरिएको छ ।

कार्यदलमा प्रमुख राजनीतिक दलहरूको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ । समितिमा नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधानसभा सदस्य तथा कार्यालय सचिव डा. भीष्मनाथ अधिकारी तथा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधानसभा सदस्य एवं पूर्वकानुनमन्त्री देव प्रसाद गुरुङ सदस्य रहेका छन् ।

सरकारले संविधान संशोधनसम्बन्धी विषयमा व्यापक बहस, सुझाव संकलन तथा राजनीतिक सहमति निर्माण गर्ने उद्देश्यसहित कार्यदल गठन गरेको जनाएको छ ।   

Share News