काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । दुवै सदनको बैठकमा महत्वपूर्ण प्रतिवेदन तथा विधेयक प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
निर्धारित कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रस्ताव गर्ने कार्यक्रम रहेको छ । उक्त विधेयक प्रस्तुत गर्नुअघि सभामा पेश गर्न अनुमति माग्ने प्रस्तावसमेत प्रस्तुत गरिने सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची समेत रहेको छ ।
यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यक्रम तय गरिएको छ ।