काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ ग्रहण गरेका हुन् । शपथ लगत्तै पण्डितले आजै बैंकमा आफ्नो कार्यभार समेत सम्हालेका हुन् ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन् ।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर पण्डितलाई बधाई दिँदै बैंकको गरिमा र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

डेपुटी गभर्नर पण्डितको नेपाल राष्ट्र बैंकमा दुई दशक लामो व्यावसायिक अनुभव रहेको छ । २०६२ माघ २ गते (सहायक निर्देशकको रूपमा) राष्ट्र बैंकमा प्रवेश गरेका उनी २०६८ मा उप–निर्देशक, २०७४ मा निर्देशक र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।
कार्यकारी निर्देशकको भूमिकामा रहँदा पण्डितले बैंकका महत्त्वपूर्ण विभागहरूको नेतृत्व सम्हालिसकेका छन् । उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको सफल नेतृत्व गर्नुका साथै बैंकको प्रवक्ताको जिम्मेवारी समेत कुशलतापूर्वक निभाएका छन् ।
अनुभवी र दक्ष कर्मचारीको रूपमा चिनिने पण्डितको नियुक्तिले राष्ट्र बैंकको नीतिगत र व्यवस्थापकीय कार्यमा थप उचाइ पुग्ने अपेक्षा गरिएको छ ।
