काठमाडौं । सरकारले वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोलाको प्रयोगमा कडाइ गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै यस्ता झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न निर्देशन दिएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ११८ मा उल्लेख भएअनुसार संवत् २०८२ मंसिर १ गते देखि नै देशभर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा पूर्ण प्रतिबन्ध लगाइएको थियो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको निर्णयबाट स्वीकृत प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभागले यो कदम चालेको हो ।
विभागको जारी सूचनामा भनिएको छ ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोलाको आयात, उत्पादन, बिक्री वितरण र दैनिक कामकाजका क्रममा प्रयोग नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई यसै सूचना मार्फत पुनः अनुरोध गरिन्छ ।’
पातलो प्लाष्टिक नष्ट हुन सयौं वर्ष लाग्ने र यसले माटो तथा जलस्रोतमा गम्भीर असर पुर्याउने हुनाले, सहरको ढल निकासमा अवरोध पुर्याउने र फोहोर व्यवस्थापनमा चुनौती थप्ने भएकाले तथा सरकारको नीति र बजेट वक्तव्यमा गरिएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन प्रतिबन्ध गरेको जनाएको छ ।
विभागले अनुगमनका क्रममा प्रतिबन्धित प्लाष्टिक प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेसमेत संकेत गरेको छ ।
सर्वसाधारण र व्यवसायी दुवैलाई वातावरणमैत्री विकल्पहरू प्रयोग गर्न विभागले प्रोत्साहन गरेको छ ।
