१७ ईडीमध्ये ४ जनाको नाम सिफारिस, को बन्दैछन् डेपुटी गभर्नर ?

काठमाडौं । सरकारले आज (मंगलबार) राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चार जना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नरमा नियुक्त गर्नका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेस गरेसँगै आज राष्ट्र बैंकले दुई जना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नरका रुपमा पाउनेछ । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एक साताअघि नै अर्थमन्त्री समक्ष चार जना कार्यकारी निर्देशकको नाम सिफारिस गरेका थिए । सोही अनुसार आज अर्थमन्त्रीले उनीहरुको नाम डेपुटी गभर्नरका लागि मन्त्रिपरिषदमा लगेका हुन् । चार जनामध्येबाट सरकारले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ । 

डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र गत फागुन २४ गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरबाट बिदा भएको वा राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त भएको करिब एक महिना हुन लागेको छ । अन्ततः सरकारले डेपुटी गर्भनर नियुक्त गर्न लागेको हो । 


राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणी (कार्यकारी निर्देशक–ईडी) स्तरका अधिकृतहरूमध्येबाट नियुक्त गरिने व्यवस्था छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहने व्यवस्था छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशन कुमार सिग्देल उमेरहदका कारण चैत १८ गते सेवा निवृत्त भएसँगै डेपुटी गभर्नरका लागि योग्य संख्या १७ मा सीमित भएको छ । 

हाल नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रुपमा नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमिल्सिना, चेत प्रसाद उप्रेती, डा. रामशरण खरेल, डा. डिल्लीराम पोख्रेल, दीर्घराज रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजन विक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशक पदमा कार्यरत छन् । उनीहरुमध्ये नै दुई जना डेपुटी गभर्नरमा नियुक्त हुनेछन् ।

Share News