ललितपुर । हालै सम्पन्न निर्वाचनपछि नयाँ संसद र सरकार गठन भएको परिस्थितिमा आर्थिक विकास, लगानीमैत्री वातावरण र रोजगारी सृजना लगायत विषयमा केन्द्रित रहेर निजी क्षेत्र र प्रतिनिधिसभाका सदस्यहरूबीच ललितपुरमा नीति संवाद आयोजना गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सन्दर्भमा आयोजित नीति संवादमा प्रतिनिधिसभाका सदस्य र निजी क्षेत्रका प्रतिनिधिहरूले आपसी सहकार्य गरी आर्थिक विकास, समृद्धि र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत स्थायित्वमा जोड दिएका छन् । सो क्रममा प्रतिनिधिसभाका सदस्यहरूले मुलुकको समृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको योगदानको चर्चा गर्दै यस क्षेत्रको समस्या र भोगिरहेको चुनौती सम्वोधनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश पराजुलीले निजी क्षेत्रसँग सहकार्यका लागि आफूहरू प्रतिवद्ध रहेको बताए । कानून निर्माण र नीतिगत व्यवस्थाका लागि संसद र यसका समितिबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरिने उनको भनाइ थियो । आफूहरू आम जनताको व्यापक समर्थनसहित सरकारमा पुगेको चर्चा गर्दै सांसद पराजुलीले युवा पुस्ताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक भएको बताए ।
नेपाली कंग्रेसका सांसद नरेन्द्रराज केरुङले देशको अर्थतन्त्रलाई सबल तुल्याउन निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । निजी क्षेत्रको पूँजीलाई मुलुकको विकासमा सदुपयोगका लागि प्रोत्साहित गर्नुपर्ने बताए । नीतिगत स्थायित्वलाई सरकारले ध्यान दिनुपर्ने र प्रतिपक्षी दलको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता उनले जनाए ।
नेकपा एमालेका सांसद गुरु बरालले समग्र उद्यमी व्यवसायीको समस्या समाधानका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको बताए । सरकारले निजी क्षेत्रलाई त्रसित गर्नुको साटो जवाफदेही व्यवहार गर्नुपर्ने उनको भनाइ थियो ।
संवाद कार्यक्रमका बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले गत निर्वाचनमा सबैजसो दलले आफ्नो घोषणापत्रमा निजी क्षेत्रको विषयलाई प्राथमिकता दिएकोमा आभार प्रकट गरे । निजी क्षेत्र बोझिलो कर र नीतिगत अस्थिरताबाट पीडित भइरहेको भन्दै त्यसलाई अन्त्य गर्न संसदको तर्फबाट भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरे ।
जेनजी आन्दोलनपछि मुलुकमा भएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आफूहरू सरकार र संसदसँग सहकार्यका लागि तयार रहेको बताए । निजी क्षेत्र र व्यवसायबाट हुने नाफालाई गलत दृष्टिकोणबाट हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।
संवाद कार्यक्रमका आयोजक एवम् महासंघका कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरेले नयाँ सरकार र निजी क्षेत्र मिलेर आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताए । महासंघका स्थल यातायात तथा पारवहन समितिका सभापति समेत रहनुभएका घिमिरेले करको दर भन्दा पनि दायरा बढाउनुपर्ने आग्रह गरे । निजी क्षेत्रले सुशासन र लगानीमैत्री ऐन कानून चाहेको भन्दै उनले सरकार र संसदबाट सहयोगको खाँचो रहेको बताए ।
नीति संवाद कार्यक्रममा रास्वपाका मनिष झा, विदूषी राना, नितिमा कार्की, शुलभ खरेल, सुनिल खड्का, प्रकाशचन्द्र परियार लगायत सांसद सहभागी भएका थिए । त्यस्तै, महासंघ अन्तर्गतका वस्तुगत संघका ५० भन्दा बढी प्रतिनिधिहरूले आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा महिला उद्यमी एवम नेपाल कृषि मेसिनरी संघकी उपाध्यक्ष सुनिता नेमाफुकीले नीति संवाद आयोजना गर्नुको औचित्य र महत्वबारे चर्चा गरेका थिए ।