काठमाडौं । जेपी मोर्गन चेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोनले आफ्नो बैंकले भू–राजनीतिक अनिश्चितता, डगमगाइरहेको अर्थतन्त्र र कृत्रिम बौद्धिककता (एआई) को क्रान्तिकारी प्रभावसँग जुधिरहेको अवस्थामा अमेरिकी मूल्यहरूप्रति व्यापक पुनःप्रतिबद्धताको आह्वान गरेका छन् ।
सोमबार प्रकाशित सेयरधनीहरूलाई सम्बोधन गरिएको आफ्नो वार्षिक पत्रमा डिमोनले देशको २५०औं वार्षिकोत्सवलाई ‘हाम्रो महान राष्ट्र बनाउने मूल्यहरू- स्वतन्त्रता, स्वतन्त्र अधिकार र अवसर प्रति पुनःसमर्पण गर्ने उपयुक्त समय’ भनेका छन् ।
डिमोनले भने, ‘हामी सबैले सामना गरिरहेका चुनौतीहरू गम्भीर छन् । सूची लामो छ, तर शीर्षमा युक्रेनमा जारी भयानक युद्ध र हिंसा, इरानमा भइरहेको वर्तमान युद्ध र मध्यपूर्वमा व्यापक तनाव, आतंकवादी गतिविधि र विशेष गरी चीनसँग बढ्दो भू-राजनीतिक तनाव छन् । कठिन समयमा पनि हामी विश्वस्त छौं कि अमेरिका सधैं झैं आफ्नो मूल्यहरूतर्फ फर्किनेछ, जसले हाम्रो राष्ट्रलाई परिभाषित गरेको छ र स्वतन्त्र विश्वमा हाम्रो नेतृत्व कायम राखेको छ ।’
विश्वकै सबैभन्दा ठूलो बजार पुँजीकरण भएको बैंकका दीर्घकालीन प्रमुख डिमोन अमेरिकी कर्पोरेट नेतृत्वमध्ये स्पष्ट रूपमा बोल्ने व्यक्तित्वमध्ये एक मानिन्छन् । उनको वार्षिक पत्रले बैंकको प्रदर्शनको अभिलेख मात्र नभई विश्व अवस्थाबारे व्यापक दृष्टिकोण पनि प्रस्तुत गर्छ ।
सोमबारको पत्रमा उनले विश्वव्यापी द्वन्द्व, निरन्तर मुद्रास्फीति, निजी बजारमा अस्थिरता र आफूले ‘खराब बैंक नियमन’ भनेका विषयलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरेका छन्।
डिमोनका अनुसार २००८ को वित्तीय संकटपछि लागू गरिएका नियमनहरूले ‘केही राम्रो काम गरे पनि... यसले टुक्रिएको, ढिलो चल्ने र महँगो तथा अत्यधिक नियमहरू भएको प्रणाली बनाएको छ, जसमध्ये केहीले वित्तीय प्रणालीलाई कमजोर बनायो र उत्पादनशील कर्जालाई घटायो ।’
उनले पुँजी तथा तरलता आवश्यकताका नकारात्मक असर, फेडरल रिजर्भको स्ट्रेस टेस्टको वर्तमान संरचना र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनमा ‘गलत तरिकाले सम्हालिएको’ प्रक्रियालाई विशेष रूपमा उल्लेख गरे।
डिमोनले अमेरिकी नियामकहरूले गत महिना सार्वजनिक गरेका बेसेल थ्री इन्डगेम (बीथ्रीई) र विश्वव्यापी प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक (जीएसआईबी) सम्बन्धी प्रस्तावप्रति जेपी मोर्गनको प्रतिक्रिया ‘मिश्रित’ रहेको बताए ।
‘बीईथ्री र जीएसआईबीसम्बन्धी हालका प्रस्तावहरूले २०२३ को प्रस्तावको तुलनामा आवश्यक पुँजी वृद्धि घटाउने प्रयास गरेको देख्नु राम्रो हो, तर केही पक्षहरू स्पष्ट रूपमा अव्यावहारिक छन्,’ उनले भने ।
उनका अनुसार करिब ५ प्रतिशत अतिरिक्त शुल्कका कारण बैंकले अमेरिकी उपभोक्ता र व्यवसायहरूलाई दिइने अधिकांश कर्जामा समान कर्जाका लागि गैर-जीएसआईबी बैंकभन्दा करिब ५० प्रतिशत बढी पूँजी राख्नुपर्ने अवस्था आउन सक्छ ।
‘यो सही होइन र यो अमेरिकी मूल्यअनुसार पनि छैन,’ उनले भने ।
व्यापार र भू–राजनीति
डिमोनले आफ्नो बैंकका लागि सबैभन्दा ठूलो जोखिमका रूपमा भू–राजनीतिक तनावलाई चिनाएका छन्, विशेष गरी युक्रेन र इरानका युद्ध र त्यसको वस्तु तथा विश्व बजारमा पर्ने प्रभावलाई । उनले युद्धलाई ‘अनिश्चितताको क्षेत्र’ भनेका छन् ।
‘हालका भू-राजनीतिक घटनाहरूको परिणामले भविष्यको विश्व आर्थिक व्यवस्थालाई निर्धारण गर्न सक्छ अथवा नहुन पनि सक्छ,’ उनले भने ।
उनले अमेरिकी व्यापार नीतिका कारण ‘विश्व आर्थिक सम्बन्धहरूको पुनःसंरचना’ भइरहेको पनि बताए । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ट्यारिफलाई प्रमुख नीति बनाएका छन्, जसअन्तर्गत विभिन्न व्यापार साझेदार र आयात वस्तुहरूमा उच्च कर लगाइएको छ ।
‘व्यापारिक द्वन्द्व समाप्त भएको छैन र धेरै देशहरूले कससँग र कसरी व्यापारिक सम्झौता गर्ने भन्ने विश्लेषण गरिरहेका छन्,’ उनले भने, ‘राष्ट्रिय सुरक्षा र स्थायित्वका लागि केही कदम आवश्यक भए पनि दीर्घकालीन प्रभाव के हुन्छ भन्ने स्पष्ट छैन ।’
निजी बजार
डिमोनले निजी बजारमा देखिएको अस्थिरताबारे पनि चर्चा गरे, जहाँ सफ्टवेयर कम्पनीहरूलाई दिइएको कर्जाप्रति चिन्ताले निजी क्रेडिट फन्डहरूबाट ठूलो मात्रामा रकम फिर्ता माग भइरहेको छ ।
‘निजी क्रेडिट क्षेत्रमा पारदर्शिता र कर्जाको मूल्यांकन प्रायः कडा हुँदैन । यसले वातावरण बिग्रिने आशंका भएमा मानिसहरूलाई तुरुन्तै बिक्री गर्न प्रेरित गर्न सक्छ, भले वास्तविक घाटा धेरै नबढेको होस्,’ उनले भने ।
उनले वास्तविक घाटा अहिलेको अवस्थाको तुलनामा अपेक्षाभन्दा बढी भइसकेको पनि बताए ।
‘जस्तोसुकै परिणाम आए पनि, कुनै समयमा बीमा नियामकहरूले अझ कडा मूल्यांकन वा पुनर्मूल्यांकनको माग गर्नेछन्, जसले थप पूँजीको आवश्यकता बढाउनेछ,’ उनले भने ।
कृत्रिम बौद्धिकता (एआई)
डिमोनले एआईको प्रयोगको गति अहिलेसम्मको कुनै पनि प्रविधिभन्दा फरक रहेको दोर्होयाए । उनले यसको प्रयोग ‘परिवर्तनकारी’ हुने बताए, तर यसको अन्तिम प्रभाव कस्तो हुनेछ भन्ने अझै स्पष्ट नभएको बताए ।
‘समग्रमा एआईमा भइरहेको लगानी सट्टेबाजीको बबल होइनस यसले महत्त्वपूर्ण फाइदा दिनेछ । तर अहिले हामी एआईसँग सम्बन्धित उद्योगमा अन्ततः कसले जित्छ र कसले हार्छ भन्ने भविष्यवाणी गर्न सक्दैनौं,’ उनले भने।
‘हामी आँखा चिम्लेर बस्ने छैनौं । हामीले अन्य प्रविधिहरू प्रयोग गरेजस्तै एआई पनि ग्राहक र कर्मचारीका लागि राम्रो सेवा दिन प्रयोग गर्नेछौं,’ उनले लेखेका छन् ।
जेपी मोर्गन वाल स्ट्रिटका कम्पनीहरूमध्ये आफ्नो व्यवसायका सबै तहमा एआई प्रयोग गर्ने अग्रणीमध्ये एक हो । गत वर्ष कम्पनीका विश्लेषण प्रमुख डेरेक वाल्ड्रोनले एजेन्टिक एआई कसरी प्रयोग गरेर काम छिटो र प्रभावकारी बनाइन्छ भन्ने देखाएका थिए ।
फेब्रुअरीमा डिमोनले एआईले जेपी मोर्गनको कार्यबललाई पुनःआकार दिइरहेको र कर्मचारीहरूका लागि ‘ठूलो पुनःव्यवस्थापन योजना’ रहेको बताएका थिए ।
‘हामीले केही ‘ज्ञात र पूर्वानुमान गर्न सकिने’ तथा केही ‘ज्ञात तर अनिश्चित’ घटनाहरूमा ध्यान दिएका छौं,’ उनले भने, ‘तर एआईजस्ता ठूला प्रविधिगत परिवर्तनहरूले दोस्रो र तेस्रो तहका प्रभाव पनि पार्छन्, जसले समाजलाई गहिरो रूपमा प्रभावित गर्न सक्छ । ... हामीले यस्ता परिवर्तनहरूलाई पनि निगरानी गर्नुपर्छ ।’ (सीएनबीसीबाट अनूदित तथा सम्पादित)