काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्था तथा नीतिगत सुधारका विषयमा छलफल गरेको छ ।
सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसँग भेटवार्ता गर्दै अटोमोवाइल क्षेत्रलाई सुदृढ बनाउन सरकारबाट आवश्यक नयाँ नीति तथा नियम आउने अपेक्षा व्यक्त गरेको थियो । अध्यक्ष उप्रेतीले सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अटोमोवाइल क्षेत्रको विकासले सरकारी राजस्व वृद्धि र रोजगारी सिर्जनामा समेत सकारात्मक योगदान पुग्ने बताए ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले सरकार राजस्व संकलन कसरी बढाउने भन्ने विषयमा अध्ययनरत रहेको जानकारी दिँदै राजस्व वृद्धि हुनेगरी करको दर घटाउने, राजस्वको दायरा विस्तार गर्ने तथा निजी क्षेत्रमैत्री नीति ल्याउने तयारी भइरहेको बताए । उनले अनियमितता नियन्त्रण, सडक पूर्वाधारमा ठूलो लगानी तथा आगामी बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गरिने पनि उल्लेख गरे ।
छलफलका क्रममा अध्यक्ष उप्रेतीले अटोमोवाइल उद्योग प्रवर्द्धनका लागि आयातित कच्चा पदार्थमा सहुलियत आवश्यक रहेको बताए । हाल सि.के.डी. प्रणालीलाई सहज भए पनि स्वदेशी उद्योगहरू सञ्चालनमा कठिनाइ भइरहेको उनको भनाइ थियो । नेपालमै टायर–ट्युब, ब्याट्री, लुब्रिकेन्ट र हेल्मेट उत्पादन भइरहे पनि गुणस्तर परीक्षण गर्ने सरकारी संयन्त्र अभावका कारण व्यवसायीहरूले समस्या भोग्नुपरेको उनले उल्लेख गरे । साथै अटोमोवाइल उत्पादनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै नाडाको तर्फबाट ३६ बुँदे लिखित सुझावसमेत पेश गरिएको जानकारी दिए ।
कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनेन्ट उद्योगको ठूलो सम्भावना रहेको बताए । विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानीमैत्री नीति आवश्यक रहेको उल्लेख गर्दै विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि स्पष्ट नीति आवश्यक भएको धारणा राखे । भारतमा जीएसटी घटेसँगै चोरी निकासी बढेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
त्यसैगरी नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले नेपाली उद्योगलाई सरकारी प्रोत्साहन आवश्यक रहेको बताए । छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणि पाठक लगायतको उपस्थिति रहेको थियो ।