काठमाडौं । सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि आवेदन दिने सेवाग्राहीलाई २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने घोषणा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागबाट डेटा प्राप्त भएको २४ घण्टाभित्रै सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाई गरी उपलब्ध गराउनेछ ।
यसका साथै लामो समयदेखि छपाइ हुन बाँकी रहेका करिब २९ लाख अनुमतिपत्रहरू आगामी २०८३ साल असार मसान्तसम्म छपाई गरिसक्ने लक्ष्य राखिएको छ ।
यातायात व्यवस्था विभागको सूचना तथा प्रविधि शाखाका प्रमुख केशव खतिवडाले २४ घण्टाभित्रै लाइसेन्स वितरण गर्ने योजना प्राविधिक रूपमा कार्यान्वयन गर्न सकिने जानकारी दिए ।
‘हामीले यसको पटक-पटक परीक्षण गरिसकेका छौं, सिस्टममा डेटा आउने बित्तिकै तत्कालै कार्यान्वयन गर्न सकिने गरी तयारी भइरहेको छ,’ उनले भने ।
अहिले स्मार्ट लाइसेन्स छपाइको काम मुद्रण विभाग (सुरक्षण मुद्रण केन्द्र) मार्फत भइरहेको छ । प्रक्रियाअनुसार सम्बन्धित कार्यालयले डेटा पठाउने र केन्द्रले छापेर फिर्ता पठाउने कामलाई तीव्रता दिइएको छ ।
विभागका अनुसार सरकारले १२ लाख थान नयाँ स्मार्ट कार्डका लागि सम्झौता गरेकोमा हालसम्म ३ लाख थान कार्ड प्राप्त भइसकेका छन् ।
बाँकी कार्डहरू आउने क्रम जारी रहेको र डेटा इन्ट्रीसँगै प्रिन्टिङको काम पनि धमाधम भइरहेको विभागले जनाएको छ ।
मुद्रण केन्द्रले छिटो छपाइ सम्पन्न गरेसँगै सेवाग्राहीले लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको छ ।