काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी लगानीका बन्द अवस्थामा रहेका उद्योगहरु पुनः सञ्चालन गर्ने योजना बनाएको बताएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँग कुरा गर्दै उनल गोरखकाली टायर लगायत बन्द अवस्थामा रहेका उद्योगहरु पुनः सञ्चालन गरिने गरी योजना बनिरहेको बताएका हुन् ।
उनले त्यसका लागि तयारी भइरहेको पनि बताएका छन् । गोरखकाली टायर लगायत दुई÷तीन वटा उद्योगलाई कुन मोडालिटीमा पुनः सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । त्यसका लागि बजेटमा पनि केही विषय उल्लेख हुनेछ,’ अर्थमन्त्री वाग्लेले भने ।
यस्तै, उनले सरकार तामझामका साथ मान्छेलाई थुन्नेमा नलाग्ने पनि बताएका छन् । ‘वर्षौंदेखि अनुसन्धान भएर दर्ता भएर रोकिएका मुद्दा लाई अगाडि बढाइएको हो । ग्रे लिस्टबाट निस्किनका लागि सरकार सक्रिय भएको लागिरहेको छ,’ उनले भने ।
उनले सरकारको एक्सन जेठ १५ मा आउने पनि बताएका छन् । जेठ १५ गते आर्थिक आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ ।
उनले निजी क्षेत्रलाई चलायमान हुने गरि सहज बनाउने बताउँदै तर सबैले कानुन पालना गर्नुपर्ने उल्लेख गरे ।
गोरखकाली टायर उद्योग २०७२ सालदेखि पूर्णरुपमा उत्पादन बन्द भएको थियो । गोरखाको गोरखा नगरपालिका वडा नम्बर १३ स्थित मझुवा देउरालीमा यसको उद्योग छ । हाल उद्योग परिसर झाडीमा परिणत भइसहेको छ ।
गोरखकाली टायर उद्योगको शिलान्यास पञ्चायती शासनकालमै भएको थियो । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा यो उद्योगको शिलान्यास गरेका थिए । २०४९ सालदेखि यो उद्योगले व्यावसायिक रूपमा उत्पादन थालेको थियो । चार सय बढी कर्मचारी यस उद्योगमा कार्यरत थिए भने पछि उद्योग बन्द भएसँगै सबै बेरोजगार बनेका थिए । उद्योगले टायर उत्पादन थालेसँगै राम्रो बजार पाएको थियो ।
यो बिचमा गठन भएका सरकारले गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने नीति अगाडि सारे पनि कार्यान्वयन भने कुनै पनि सरकारले गरेनन् । अहिले बालेन शाह नेतृत्वको सरकारले भने यो उद्योगलाई प्राथमिकताका साथ हेरेको बुझिएको छ ।