काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा सीमित समूहको चलखेल र इन्साइडर ट्रेडिङ गरिरहेको आरोप लगाएका छन् । सोमबार अर्थ मन्त्रालयमा आर्थिक पत्रकारहरूसँग संवाद गर्दै उनले बजारमा कृत्रिम अफवाह फैलाएर लगानीकर्तालाई भ्रमित बनाउने प्रवृत्ति बढेको बताएका हुन् ।
उनका अनुसार स्टक मार्केटमा केही सानो समूहले चलखेल गर्न खोजिरहेको छ । इन्साइडर ट्रेडिङ र नियमविपरीत कारोबार गर्नेलाई सरकारले कडाइका साथ नियन्त्रणमा लिनेछ । उनले बजारलाई पारदर्शी र विश्वसनीय बनाउन सरकार क्रियाशील हुने बताए ।
अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै राजनीतिक सुशासनसँगै आर्थिक सुधारलाई अगाडि बढाइने बताए । ‘हाम्रो लक्ष्य सामाजिक न्यायसहितको अर्थनीति हो । निजी क्षेत्रलाई चलायमान बनाउनेछौं, तर कानुनी र नियामकीय व्यवस्था कडाइका साथ लागू गरिनेछ,’ उनले भने ।
उनले आगामी जेठ १५ मा आउने बजेट आर्थिक रूपान्तरणमुखी हुने संकेत दिँदै लगानीमैत्री वातावरण निर्माणमा जोड दिने बताए । साथै, अनलाइन प्रणालीमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालय सक्रिय रूपमा लागिरहेको जानकारी पनि दिए ।
विदेशमा समस्यामा परेका नेपालीको उद्धारबारे बोल्दै उनले सबैलाई फर्काउनेभन्दा पनि अति अप्ठ्यारो अवस्थामा रहेका नागरिकलाई प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पारे । उनले एकै पटक २५ लाख नेपालीलाई फर्काउनेभन्दा पनि समस्यामा परेकोलाई फर्काउने योजना रहेको सुनाए ।
त्यसैगरी, लामो समयदेखि रोकिएका मुद्दालाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट देशलाई बाहिर निकाल्न सरकार सक्रिय रहेको उनले बताए ।
अर्थमन्त्रीले गोरखकाली टायर लगायत केही सरकारी संस्थानको पुनर्संरचना र सञ्चालन मोडालिटीबारे पनि छलफल भइरहेको जानकारी दिँदै ती विषय आगामी बजेटमा समावेश हुने संकेत गरेका छन् ।