काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि : समृद्धि, असमानता र सुधारको वर्षौदेखिका बहस नामक पुस्तक प्रकाशन गरेको छ । यो पुस्तकको सोमबार अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालमा विमोचन गरेका हुन् ।
पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टताका साथ प्रकाशन गरेका उनका ८ वटा गहन लेखहरू समावेश गरिएको छ । अर्थमन्त्री वाग्लेले यो पुस्तकले सुधारको लागि विगतमा गरेको पैरवी स्मरण गराएको बताए । आम सरोकारवालालाई आफ्नो दृष्टिकोण बुझ्न सहयोग हुने उनको भनाइ छ ।
विगतमा उठाइएका आर्थिक सुधारका एजेण्डा पुस्तकमा छन् । पहिले विषय विज्ञका रूपमा सुधारका लागि उठाइएका धेरै कुरा सुनिएन । 'अन्तत राजनीतिमा आएर अहिले तीनै एजेण्डा कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा छ,' अर्थमन्त्री वाग्लेले भने 'यीनै दस्तावेजको आधारमा सुधारका कामहरू गर्ने हो' ।
पुस्तकमा वि.सं. २०७१ देखि २०८२ सम्मको एक दशक लामो कालखण्डमा उनले नेपालको आर्थिक स्वरूपलाई विभिन्न आयामबाट सुक्ष्म ढङ्गले केलाइएको छ । दक्षिण एसियाली देशहरूबीचको व्यापार लागत, संघीयताको आर्थिक सबलीकरण, मिलिभगतको पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्य र अन्तर्राष्ट्रिय सहायताको फेरिँदो स्वरूप जस्ता गम्भीर विषयहरू पुस्तकमा समेटिएका छन् ।
नेपालको उत्पादकत्व वृद्धि शून्य रहेको तीतो यथार्थलाई उजागर गर्दै अब सानातिना सुधारले मात्र नहुने र 'बिग ब्याङ रिफर्म' अर्थात् वृहत संरचनात्मक सुधार आवश्यक रहेको तर्क उनको विचारमा छन् ।
१०० अर्ब डलर माथिको अर्थतन्त्र पुर्याउने लक्ष्यका साथ डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई अर्थतन्त्रको मुख्य शक्तिका रूपमा प्रस्तुत गरेका छन् । सेजन अध्यक्ष भागत भट्टराईले यो पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य वर्तमान अर्थमन्त्रीको सोच र नेपालको अर्थतन्त्रलाई हेर्ने उनको दृष्टिकोणलाई आम नागरिक र सरोकारवालासम्म पुर्याउनु भएको बताए । साथै, आम पत्रकारका लागि उनका नीति र व्यवहारको मूल्यांकन गर्न पनि सहयोग पुग्ने उनले बताए ।