यौनधन्दामा संलग्न युगाण्डाका दुई महिला देश निकाला, १ वर्षसम्म नेपाल आउन नपाउने

फाइल तस्बिर ।

काठमाडौं । ठमेलमा यौनधन्दा संलग्न भएको आरोपमा युगाण्डाका दुई नागरिकलाई अध्यागमन विभागले देश निकाला गरेको छ । 

अध्यागमन विभागले दुई जनालाई अध्यागमनको कानुन विपरीत कार्य गरेकाले देश निकाला गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

केही हप्ताअघि ठमेलबाट अनैतिक क्रियाकलाप गर्ने युगाण्डाका २० जना महिला पक्राउ परेका थिए । घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौनधन्दामा संलग्न गराउने विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूविरूद्ध जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अभद्र व्यवहारमा मुद्दा चलाएकाहरू धरौटीमा छुटेपछि युगाण्डाका महिलाहरू विभागको सम्पर्कमा आएको प्रवक्ता ढकालले जानकारी दिए ।

‘दुई जना युगाण्डाका महिलाहरू विभागमा टिकट लिएर आएका थिए । आज राति उनीहरू नेपाल छोड्दैछन्,’ उनले भने, ‘प्रस्थान भएको मितिदेखि १ वर्षसम्म नेपाल आउन नमिल्ने गरेर उनीहरूलाई स्वदेश फिर्ता गर्दैछौं ।’

विभागमा देश छोड्ने भनेर अझै ७ जना महिलाहरू विभागको सम्पर्कमा आएको प्रवक्ता ढकालले जानकारी दिए । विभागले नेपाल छोडेको मितिदेखि १ देखि ३ वर्षसम्म आउन नपाउने गरेर पठाउनेछ ।

जरिवाना बुझाएर रिहा हुनेहरू विभाग आएकालाई स्वदेश पठाइदिन लागेको प्रवक्ता ढकालले बताए  । जरिवाना  बुझाउन नसक्नेहरू कारागार चलान हुने उनको भनाइ छ ।

Share News