काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्सेमा हरियाली छाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सम्बन्धमा पहिलोपटक विस्तृत अभिव्यक्ति दिएसँगै बजारमा हरियाली छाएको हो ।
अर्थमन्त्री वाग्लेले पहिलो पटक लगानीकर्ताको मनोबल बढाउने गरी अभिव्यक्ति दिएसँगै बजारमा रौनक देखिएको सेयर विश्लेषकहरूको भनाइ छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा कायम भएको छ ।आज ३४५ स्टकको १ लाख २४ हजार ९३ पटक कारोबारमा २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका सबै उपसमूह बढेका छन् । सबैभन्दा धेरे हाइड्रोपावरको ४.४९ प्रतिशतले बढेको छ । बैंकिङ ३.१८, विकास बैंक ३.६३, वित्त ४.०३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन १.५३, माइक्रोफाइनान्स २.४३, म्युचल फण्ड १.४०, निर्जीवन बीमा २.९४, अन्य २.३६ र व्यापार २.४० प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा आज रिलायन्स स्पिलिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।
दोस्रो धेरै कारोबार भएको कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५४ करोड ९२ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड १९ लाख १८ हजार रुपैयाँ, अपि पावर कम्पनीको ३१ करोड ५२ लाख ९८ हजार रुपैयाँ र रिदी पावर कम्पनीको ३० करोड ७ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिदी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै शिखर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
पुँजी बजारको वर्तमान अवस्था, सुधारका उपाय र बजार सुधार सम्बन्धी अर्थमन्त्री डा. वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच सोमबार बिहान सिंहदरबारमा भेटघाट भएको थियो ।
भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले आफ्नो राजनीतिक दलले सेयर बजारका विषयमा स्पष्ट र उदार धारणा राख्दै आएको उल्लेख गर्दै हाल बजारमा अनावश्यक अफबाह फैलाएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
साथै उनले नेपालको अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको दाबी गर्दै बजारमा फैलिएका हल्ला र गलत अफबाहको पछि नलाग्न सबैलाई आग्रहसमेत गरेका थिए ।
ब्रोकर व्यवसायीहरूसँग अर्थमन्त्रीले भने- स्वर्णिम समय आउँदैछ, हल्लाको पछि नलागौँ