मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार गैरआवासीय नेपाली सङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा उनले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा अन्तरराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन आग्रह गरे ।      

राष्ट्रपति पौडेलले भने, 'नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ, भारत र चीनजस्ता विश्वकै ठूलो जनसङ्ख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन्, यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ ।'     

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई अङ्गिकार गरेर अघि बढ्नुपर्ने खाँचो औँल्याएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपाली सङ्घले आफ्नोतर्फबाट सहयोग गर्ने नै छ भन्ने विश्वास व्यक्त गरे ।      

उनले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिए । सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए । रासस  

Share News