काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले देशका रुग्ण ठेक्काहरूलाई तीन वर्गमा वर्गीकरण गरी समाधान खोज्नुपर्ने बताएका छन् ।
सोमबार महासंघमा आयोजित शपथ तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन् ।
अध्यक्ष पाण्डेका अनुसार स्रोत सुनिश्चित भएका र म्याद थप्दा काम सम्पन्न हुन सक्ने आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ । उनले यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग पनि छलफल भइसकेको जानकारी दिए ।
अध्यक्ष पाण्डेले मन्त्री लम्सालसँगको भेटलाई उद्धृत गर्दै भने, ‘आयोजनाहरू अघि बढ्ने सम्भावना रहेसम्म ठेक्का तोडेर व्यवसायीलाई कालोसूचीमा राख्ने पक्षमा सरकार छैन । मन्त्रीज्यू यस विषयमा सकारात्मक हुनुहुन्छ । ’
निर्माण कार्यमा ढिलाइ हुनुको पछाडि सरकार वा व्यवसायी जो दोषी भए पनि उनीहरूमाथि कारबाही हुनुपर्ने पाण्डेको अडान छ ।
‘यदि व्यवसायीको गल्तीले काम रोकिएको हो भने उनीहरूको १० प्रतिशत धरौटी जफत गरेर भए पनि प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले थपे ।
वर्तमान समयमा निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था सिर्जना भएको तर्फ पनि उनले ध्यानाकर्षण गराए ।
यस समस्याका लागि सरकारसँग निरन्तर लबिङ गर्ने र सहकार्यमार्फत निकास निकाल्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।