काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबारलगायतका घटना सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ गर्न नहुने बताएकी छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले सो घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ भनी सरकारलाई प्रश्नसमेत गरिन् ।
उनले भनिन्, ‘भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो त, त्यसको जिम्मा कसले लिने हो ? यसबारेमा निष्पक्ष छानबिन कहिले हुन्छ ?
नवयुवाहरुलाई गलत ढंगले परिचालन गर्ने सिंहदरबारलगायतका ठाउँहरूलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उनले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुपर्ने बताइन् ।
सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँड्ने काम गर्न नहुने पनि बताइन् ।
उनले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढन नसकिने पनि बताइन् ।