काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सरकारले कदम चाल्नुपर्ने उनको भनाई थियो ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले सेयर बजारमा आएको गिरावटले लगानी कर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताए ।
उनले भने, ‘सेयर बजारमा लगानी कर्ताले करिब ३ खर्ब गुमाएका छन् । नयाँ र बलियो सरकार आईसकेपछि उद्योगी, व्यवसायी उत्साही पनि थिए । तर सरकारले उद्योगी व्यवसायी माथि गरेको एक्सनले पुँजी बजार अव बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सृजना भएकाले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एशोसिशनले जनाएको छ ।’
सांसद रोकायाले पूँजी बजार अब बढ्न नपाउने भन्ने आशंका पनि सरकारले तत्काल निवारण गर्नुपर्ने बताए ।