काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरे ।
उनले भने,‘मध्यपूर्वको युद्धलाई निहुँ बनाएर हाम्रो सरकारले सरकारी र शिक्षण संस्थालाई दुई दिन बिदा गराउनु राम्रो होइन । करिब ३ दिन कर्मचारी र विद्यार्थीलाई बेरोजगार राख्नु बेथिति सृजना गर्नु हुनसक्छ । यो निर्णय फिर्ता लिएर सहजता उपलब्ध गराउन म सरकारसँग जोडदार माग गर्दछु ।’
सांसद सावित्री मल्लले खाने पकाउने ग्याससहित पेट्रोललगायतका इन्धनमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिइन् ।
उनले बजारमा महंगी र दैनिक उपभोग्य वस्तुको समेत अभाव भएकाले त्यसलाई सहज र सुलभ बनाउने काममा पनि सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्ने बताइन् ।
सांसद मल्लले सरकारले मूल्य वृद्धि नियन्त्रण गरेर आम उपभोक्तालाई मारबाट पार लगाउनुपर्ने पनि बताइन् ।