निकोलश पाण्डेको नेतृत्वमा महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार, निर्माण क्षेत्रको गरिमा उकास्ने अठोट

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले सोमबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । 

अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बिच नवनिर्वाचित अध्यक्ष निकोलश पाण्डेसहितका पदाधिकारी तथा सदस्यहरूले आफ्नो कार्यभार सम्हाल्दै शपथ लिएका हुन् । 

शपथ ग्रहणसँगै नयाँ नेतृत्वले निर्माण क्षेत्रको वर्तमान चुनौतीहरूलाई चिर्दै खस्कँदो गरिमालाई पुनस्र्थापित गर्ने र व्यवसायीहरूको हकहितका लागि दृढतापूर्वक लाग्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू, सातै प्रदेशका प्रतिनिधिहरू र निर्माण क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन भएका पदाधिकारीहरू अध्यक्षमा निकोलश पाण्डे, महासचिवमा शिवहरि घिमिरे, महिला उपाध्यक्षमा गङ्गा पोखरेल, कोषाध्यक्षमा उज्ज्वल गौतम, सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ, नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष साह, प्रादेशिक उपाध्यक्षहरूमा प्रदेश निर्वाचित उपाध्यक्ष कोशी धिरेन्द्र दाहाल, मधेस शम्भु ठाकुर, बागमती बालकृष्ण थापा, गण्डकी खिमप्रकाश मल्ल, लुम्बिनी शहदेव खड्का कर्णाली हिमबहादुर बुढा तथा सुदूरपश्चिम प्रकाशबहादुर शेट्टी रहेका छन् । 

अधिवेशनले देशभरका निर्माण व्यवसायीहरूमाझ आपसी एकता र सहकार्यको नयाँ ऊर्जा सञ्चार गरेको सहभागीहरूले बताएका छन् ।

नयाँ टिमले विशेष गरी निर्माण उद्योगमा देखिएका नीतिगत समस्याहरूको समाधान र व्यवसायीहरूको सुरक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने विश्वास लिइएको छ । 

Share News