प्रतिनिधिसभा बैठकमा आज एक घण्टाको ‘विशेष समय’ चलाइने

काठमाडौं । सोमबार (आज) बस्ने प्रतिनिधिसभा बैठकमा एक घण्टाको ‘विशेष समय’ चलाउने निर्णय भएको छ ।सभामुख डीपी अर्यालको आह्वानमा आज सिंहदबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले प्रतिनिधिसभा नियमावलीका निम्ति मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ । 

संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन नयाँ नियमावली बनाउने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णयसमेत गरिएको छ ।

आज अपरान्ह १ बजे प्रतिनिधिसभा बैठक बस्ने तय छ । बैठकमा तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। 

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन अध्यादेश), २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची तय गरिएको छ ।

Share News