काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका तर बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका उम्मेदवारविरुद्ध दायर मुद्दा सोमबार (आज) सर्वाच्च अदालतको संवैधानिक इजलासमा पेशीमा राखिएको छ ।
उदयपुर, पर्सा, सिन्धुलीलगायत विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूमाथि कालोसूचीमा रहेको तथ्य लुकाएर उम्मेदवारी दिएको आरोपसहित रिट दायर गरिएको हो ।
रिट निवेदकहरूको तर्फबाट उम्मेदवारी दर्ता गर्दा अनिवार्य रूपमा खुलाउनुपर्ने विवरण उम्मेदवारहरूले ढाँटेको भन्दै उनीहरूको उम्मेदवारी नै बदर गर्न माग गरिएको छ ।
यसअघि धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले मतदान हुन दुई दिनअघि नै खारेज गरेको थियो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि आयोगले उक्त निर्णय लिएको थियो ।
यस्तै, उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सांसद सूर्यबहादुर तामाङ र सिन्धुली क्षेत्र नम्बर १ का धनेन्द्र कार्कीसमेत कालोसूचीमा रहेको तथ्य लुकाएर उम्मेदवार बनेको आरोपमा मुछिएका छन् । उनीहरू दुवै जना निर्वाचनमा विजयी भइसकेकाले निवेदकले उम्मेदवारीसँगै सांसद पद पनि खारेज गर्न माग गरेका छन् ।