काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर उद्योगी राजबहादुर शाहले खरिद गरेका छन् । गोर्खा ब्रुअरी र जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका सञ्चालक शाहबीच १५ प्रतिशत सेयर खरिद बिक्रीको सहमति भएको हो ।
गोर्खा ब्रुअरीमा हाल करिव एक अर्ब ३० करोड रुपैयाँ सेयर पुँजी रहेको छ । त्यसको शाहले १५ प्रतिशतसम्म सेयर खरिद गर्ने सहमति भएको हो । सो सेयर प्रिमियम मूल्यमा खरिदबिक्री गर्ने सहमति भएको उच्च स्रोतले बतायो । तर कति प्रिमियम मूल्य थपेको भन्ने विषय स्रोतले खुलाएन ।
बहुराष्ट्रिय कम्पनी काल्सवर्ग समूहको हाल सतप्रतिशत लगानी रहेको गोर्खा ब्रुअरीमा अब नेपाली व्यवसायी शाह पनि संलग्न भएका छन् । ‘गोर्खा ब्रुअरी आफैमा ब्राण्डेड छ । नेपाली उद्योगमा स्थापित जावलाखेल ग्रुप पनि त्यसमा आवद्ध भएपछि अब एकअर्काको परिपूरकका हिसाबले कम्पनी अगाडि बढ्नेछ,’ स्रोतले भन्यो ।
गोर्खा ब्रुअरीले बियर मात्र उत्पादन गर्दछ । यसका उत्पादन काल्सवर्ग र टुर्बाेग नेपालमा सर्वाधिक रूचाइने वियर हुन् । जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजका विस्की, भोड्कासहित विभिन्न ब्राण्ड नेपाली बजारमा अग्रणी स्थानमा छन् ।
राजबहादुर शाह परिवारको लगानीमा सञ्चालित जाउलाखेल ग्रुप अफ डिस्ट्रिलरी अन्तर्गत हाल विभिन्न २१ ब्राण्डमा मदिरा उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ । व्यक्तिगत तर्फबाट सबैभन्दा बढी आय कर तिरेका जनाउँदै उनी र उनको बुबा विजय बहादुर शाहलाई नेपाल सरकारले पटक पटक उच्च करदाता सम्मान दिएको छ ।
गोर्खा ब्रुअरीको स्थापना काल्सवर्ग र खेतान समूहको संयुक्त लगानीमा भएको थियो । सुरुमा यस कम्पनीको व्यस्थापन खेतान समूहकै नेतृत्वमा थियो । पछि खेतान समूहले यसको सेयर बेचेर घटाउँदै लगेको थियो । २०८१ साउनमा खेतान ग्रुपको स्वामित्वमा बाँकी रहेको ९.९४ प्रतिशत सेयर पनि कार्लसबर्ग ग्रुपले खरिद गरेको थियो । खेतान समूहले सो सेयर काल्सवर्गलाई नै बिक्री गरेपछि सतप्रतिशत स्वामित्व काल्सवर्गको रहेको थियो ।