काठमाडौं । एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड तथा विद्युतीय कार विकास गरिरहेको जनाएको छ । कम्पनीले सोलिडकोर ब्याट्री र ‘हाइब्रिड प्लस’ प्रणालीमार्फत आफ्ना सवारीसाधनलाई अझ छिटो, शान्त र स्मार्ट बनाउने लक्ष्य लिएको छ ।
नयाँ हाइब्रिड प्लस प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रविधि आगामी एमजी एस९ प्लग–इन हाइब्रिड मोडेलमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ । सवारीमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज कम गर्नुका साथै गाडीको क्षमता र दक्षता दुवै सुधार गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका वरिष्ठ इन्जिनियरका अनुसार इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने क्षमता राख्छ, जसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई सहज बनाउँछ । साथै डिजिटल ड्याम्पिङ प्रविधिले सवारीको आराम बढाउनेछ भने सेन्सरमार्फत कम्पन नियन्त्रण गरी यात्रा अझ शान्त र सहज बनाइने बताइएको छ ।
एमजीले ‘सेमी–सोलिड स्टेट’ प्रविधिमा आधारित सोलिडकोर ब्याट्री पनि विकास गरिरहेको छ, जसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत तरल पदार्थ प्रयोग गरिएको हुन्छ । यसले ऊर्जा सञ्चय क्षमता बढाउने, छिटो चार्ज हुने र विभिन्न तापक्रममा स्थिर प्रदर्शन दिने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार नयाँ ब्याट्री परम्परागत लिथियम–आयन ब्याट्रीभन्दा सुरक्षित हुनेछ । परीक्षणका क्रममा दबाब वा क्षति पुगे पनि आगलागी वा स्पार्क नदेखिएको दाबी गरिएको छ ।
यी नयाँ प्रविधिमार्फत भविष्यका एमजी सवारीलाई अझ शक्तिशाली, सुरक्षित, ऊर्जा–दक्ष र आरामदायी बनाउने कम्पनीको लक्ष्य रहेको छ ।